काठमाडौं । विश्व कप तयारीका लागि अमेरिका भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले ह्युस्टन हरिकेन्सविरुद्धको पहिलो अभ्यास खेलमा जित दर्ता गरेको छ । नेपालले हरिकेन्सलाई ६ रनले पराजित गरेको हो ।
प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा हरिकेन्सले टस जितर फिल्डिङ रोजेको थियो । सुरुवाती ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो । कप्तान रोहित पौडेलले २३ रन बनाए । कुशल मल्ल १२ रनमा आउट भए । अनिल साहले सर्वाधिक ४७ रनको योगदान दिए । गुलशन झा २० र सन्दीप जोरा २१ रनमा बाहिरिए ।
जवाफमा घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४० रन मात्र बनाउन सक्यो । हरिकेन्सका लाहिरु मिलन्थाले सर्वाधिक ३३ रन बनाए भने अली शेखले २३ रन बनाए । नेपालका लागि सोमपाल कामी र करण केसीले समान २-२ विकेट लिए ।
खेलपछि दुवै टोलीले सुपर ओभर खेलेका थिए । सुपर ओभरमा पहिला ब्याटिङ गरेको हरिकेन्सले अविनाश बोहराविरुद्ध १५ रन बनाउको थियो । जवाफमा कुशल मल्लले पहिलो दुई बलमा छक्का र चौथो बलमा चौका प्रहार गर्दै जित दिलाए । जितसँगै २ खेलमा अभ्यास सिरिजमा नेपालले १-० को अग्रता बनाएको छ । दोस्रो खेल आज राति हुनेछ ।