काठमाडौं । कर्णाली प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वेन्टी च्याम्पियनसिपमा लगातार तेस्रो जित दर्ता गरेको छ ।
चौथो खेलमा तेस्रो जित हात पार्ने क्रममा कर्णालीले गण्डकी प्रदेशलाई ५ रनको झिनो अन्तरले पराजित गर्यो ।
मूलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६८ रन बनाएको थियो । ओपनर विपिन रावलले सर्वाधिक ६८ रन बनाए । उनी प्लेयर अफ दी म्याचसमेत चुनिए । रवीन्द्रजंग शाही ३३ रनमा आउट हुँदा तथा दिनेश अधिकारीले अविजित २९ रनको योगदान गरे । गण्डकीको बलिङमा सबै ४ विकेट अमृत गुरुङको नाममा रहृयो ।
१६९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ थालेको गण्डकीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६३ रन मात्र बनाउन सक्यो ।
गण्डकीको चेजमा ओपनर अर्जुन कुमालले सर्वाधिक ७० रन बनाए । उनी रनआउट भए । सन्दीप खत्रीले ११ बलमा अविजित १९ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । कर्णालीका दिवन पुन, प्रकाश जैशी र युनिष ठकुरीले समान १-१ विकेट लिए ।
जितसँगै कर्णालीले ४ खेलमा ३ जितसहित ६ अंक जोडेको छ । ऊ तालिकाको दोस्रो स्थानमा छ । गण्डकी ५ मध्य १ जितसहित छैटौं स्थानमा छ ।