काठमाडौं । इन्डियन प्रिमियर लिग- आईपीएलमा गुजरात टाइटन्सले चौथो जित दर्ता गरेको छ ।
गुजरातले जारी सिजनको ३६औं खेलमा पन्जाब किंग्सलाई ३ विकेटले पराजित गरेको हो । पन्जाब भने लगातार चौथो खेलमा पराजित भयो । घरेलु मैदान मुल्लानपुरमा टस जितेर पहिले ब्याटिङ रोजेको पन्जाबले २० ओभरमा १ सय ४२ रन बनाएर अलआउट भयो ।
पन्जाबका प्रभसिम्रन सिंहले सर्वाधिक ३५ रन बनाउँदा हरप्रित ब्रारले २९ रन जोडे । यस्तै साम करनले २० र हरप्रित सिंहले १४ रनको योगदान दिए । गुजरातका साई किशोरले ४ विकेट लिए । उनी म्यान अफ द म्याचसमेत घोषित भए ।
जवाफमा १ सय ४३ रनको लक्ष्य गुजरातले ५ बल बाँकी रहँदै ७ विकेट गुमाएर पूरा गर्यो । गुजरातका कप्तान शुभमन गिलले ३५ रन र साई सुदर्शनले ३१ रन जोडे । राहुल तेवातिया ३६ रनमा नटआउट रहँदै गुजरातलाई जितसम्म पुर्याए ।
यससँगै गुजरात ८ खेलमा ८ अंकसहित छैटौँ स्थानमा छ भने पन्जाब ८ खेलमा ४ अंकसहित नवौँ स्थानमा छ । आ्ईपीएलमा आज राजस्थान रोयल्स र मुम्बई इन्डियन प्रतिस्पर्धा गर्दै छन् ।