राष्ट्रपति रनिङ सिल्ड : पहिलो दिनमा एथ्लेटिक्सतर्फ ८ स्वर्णको छिनोफानो

हाइजम्पमा गण्डकीका गणेश विकको राष्ट्रिय कीर्तिमान
वैशाख ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रपति रनिङ सिल्ड : पहिलो दिनमा एथ्लेटिक्सतर्फ ८ स्वर्णको छिनोफानो

काठमाडौं । १४औं संस्करणको राष्ट्रपति रनिङ सिल्डको आज (मंगलबार) साँझ राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका छन् । साँझमा पारा खेलाडी पलेशा गोवर्धनले दीप प्रज्वलन गरेको प्रतियोगिताको एथ्लेटिक्स, भलिबल र कबड्डीका खेलहरू भने बिहानैबाट सुरु भए । पहिलो दिन गण्डकीका गणेश विकले हाइजम्पमा कीर्तिमान बनाएका छन् ।

प्रतियोगिताअन्तर्गतका भलिबल, कबड्डी र एथ्लेटिक्स खेल आज सुरु भएका हुन् । आज बिहानै एथ्लेटिक्सका आठ विधाका खेल सम्पन्न भएका छन् ।

एथ्लेटिक्समा छात्रतर्फ मधेशका आदेशकुमार यादवले एक सय मिटरमा स्वर्ण जितेका छन् । यो विधामा बागमतीका प्रवीण रानामगर दोस्रो र चन्द्र बोहोरा तेस्रो भए । छात्रातर्फ सुदूरपश्चिमका रीतु जोशीले स्वर्ण जितिन् । त्यसैगरी चार सय मिटर दौडमा छात्रमा रोहितकुमार गुप्ता र महिलातर्फ सरिता खड्काले स्वर्ण पदक जितेका छन् ।

गण्डकी प्रदेशका गणेश विकले कीर्तिमानी १.८१ मिटर उचाइ जम्प गरेका छन् । उनले हाइजम्पमा नयाँ रेकर्ड बनाएका हुन् । छात्रातर्फ हाइजम्पको स्वर्ण सुदूरपश्चिमकी सुस्मिता चौधरीले जितेकी छन् ।

१५ सय मिटर दौडमा छात्रतर्फ बादल कार्की प्रथम हुँदा महिलातर्फ कल्पना बुढा पहिलो भइन् । बादलले चार मिनेट १९ सेकेन्ड र कल्पनाले निर्धारित दूरी पाँच मिनेट ४४ सेकेन्डमा पूरा गरिन् ।

रनिङ सिल्डमा देशभरका ६८६ खेलाडी सहभागी छन् । यो प्रतियोगितका लागि डेढ करोड विनियोजन गरिएको छ । ६६ स्वर्णको लागि हुने प्रतियोगिताको समापन पर्सि हुनेछ ।

प्रतियोगितामा कराते, तेक्वान्दो, उसुमा पनि समावेश गरिएको छ । पहिलो दोस्रो र तेस्रो हुने खेलाडी तथा टिमले नगद पुरस्कार पाउने राष्ट्रिय खेलकुद परिषद् राखेपले जानकारी दिएको छ । त्यसैगरी टिम च्याम्पियन, उपविजेता र तेस्रो हुने टिमले पनि पुरस्कार पाउनेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement