काठमाडौं । वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वेन्टी च्याम्यिनसिपमा मधेस प्रदेशले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा मधेसले बागमती प्रदेशलाई ९ विकेटले पराजित गरेको हो ।
मुलपानीको माथिल्लो मैदानमा मधेशले टस जितेर फिल्डिङ रोजेपछि बागमतीले पहिला ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४१ रनको योगफल तयार पारेको थियो । पहिलो विकेटका लागि ओपनर आशुतोष घिरैया र कप्तान रित गौतमले २० बलमा ३८ रनको साझेदारी गर्दै आक्रामक सुरुवात दिलाएका थिए । रित १३ रन बनाएर रञ्जित कुमारको सिकार भए ।
आशुतोषले ३७ रनको योगदान दिए । शुभ कंसाकारले सर्वाधिक ४३ रन जोडे । उत्तम मगर १२ र रविन जोशीले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । मधेसका रुपेश सिंह, विशाल पटेल र अभिषेक तिवारीले २-२ विकेट लिए ।
जवाफमा १ सय ४२ रनको लक्ष्य मधेसले १८ बल बाँकी रहँदै ४ विकेट गुमाएर पुरा गर्यो । रोहन बिक र साहिल पटेलले ४७ बलमा ५४ रनको साझेदारी गर्दै मधेशको रन चेजलाई सहज बनाए । रोहन ३२ मा आउट भए सर्वाधिक ६७ रनको अर्धशतकीय योगदान दिएका साहिल गौतम केसीको सिकार भए । मायन यादवले २३ रन जोडे । राहुल मण्डल १४ रनमा अविजित रहे । बागमतीका सुवास खत्री, गौतम केसी र सोनु देवकोटाले १-१ विकेट लिए ।