एसएमएस फ्रेन्डसिप कप : गुजरातलाई नेपालले दियो १८२ रनको लक्ष्य

चैत्र २१, २०८० |कान्तिपुर टीभी संवाददाता
एसएमएस फ्रेन्डसिप कप : गुजरातलाई नेपालले दियो १८२ रनको लक्ष्य

काठमाडौं । एसएमएस फ्रेन्डसिप कप टी-ट्वेन्टी क्रिकेट प्रतियोगितामा नेपालले अहिले गुजरातसँग खेलिरहेको छ। पहिले ब्याटिङ गरेको नेपालले गुजरातसामु एक सय ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ८१ रन बनाएको हो।

वापीस्थित साई मेघपन मैदानमा आयोजक गुजरातले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङको अवसर पाएको थियो। शानदार सुरुआत गर्दै नेपालका ओपनर कुशल भुर्तेल र आशिफ शेखले विष्फोटक पारी खेले। उनीहरूले १ सय २५ रनको शतकीय साझेदारी गरे। ४४ बलमा ६७ रन बनाएर कुशल भुर्तेल १३ ओभर तीन बलमा आउट भए।

उनी आउट हुँदा नेपाल सहज अवस्थामा पुगिसकेको थियो। कप्तान राहित पौडेल ३ रनमै बाहिरिए। आशिफले भने ८५ रनको इनिङ खेले। आशिफ आउट हुँदा नेपालले एक सय ६६ रनमा तेस्रो विकेट गुमायो। तर त्यसपछि सन्दीप जोरा २, कुशल मल्ल एक रनमा आउट भए। गुजरातका जयमितले १८ औं ओभरमा दुई विकेट लिए।

गुल्सन झा चार र अनिल शाह शून्यमा आउट भए। यी दुवै खेलाडीलाई ध्रुसान्तले अन्तिम ओभरमा आउट गराएका हुन्।आज जित दर्ता गर्न सके नेपाल फाइनलमा पुग्नेछ। नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको थियो भने दोस्रोमा बरोडाविरुद्ध २७ रनको जित दर्ता गरेको थियो। प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा नेपालले शुक्रबार फेरि बरोडासँग खेल्नेछ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.