काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आगामी आर्थिक वर्षदेखि दस्ताबेजको अभिलेखीकरणमा सुधार गर्ने जनाएको छ ।
प्राप्त विवरणको अभिलेख राख्ने पद्धति कमजोर हुँदा फाइलै हराउने र समयमा काम नहुने हुँदा समस्या हुँदै आइरहेको छ ।
राखेपमा सात सय कर्मचारी भए पनि काम भने चुस्त हुन सकेको छैन । कर्मचारी र संघका पदाधिकारीले लापरबाही गरेपछि लामो समयदेखि राखेपमा रहेको पेस्की फर्स्योटको समस्या सुल्झिन सकेको छैन ।
आज राखेपले आयोजना गरेको आउँदो आर्थिक वर्षका लागि बजेट छलफल कार्यक्रममा राखेपको अभिलेखीकरणबारे प्रश्न उठेको थियो । सदस्य-सचिव टंकलाल घिसिङले २० वर्षदेखि राखेपमा नयाँ कर्मचारी नियुक्त नभएको र अहिलेको प्रविधिमा काम गर्न नसक्ने भएको हुँदा समस्या आएको बताए ।
सुझाव संकलन कार्यक्रममा १०औं राष्ट्रिय खेलकुदको आयोजना, २०औं एसियाली खेलकुदको तयारीमा तीव्रता, देशका विभिन्न ठाउँमा रहेको रंगशाला र खेल मैदान संरक्षण पनि उपभोक्तालक्षित हुनुपर्ने, खर्च गर्न सकिने ठाउँमा मात्र बजेट माग गर्नुपर्ने विषयमा छलफल भएका थिए ।
साथै अघिल्लो वर्षको तुलनामा यो वर्षको खेलकुद बजेट बढ्ने संकेत देखिएको छ । योजना आयोगले युवा तथा खेलकुद मन्त्रालयलाई तीन अर्ब १९ करोडको बजेट सिलिङ दिएको छ ।
आउँदो वर्ष मूलपानी मैदान, विराटनगर रंगशाला र चितवनको गौतम बुद्ध रंगशालालाई प्राथमिकतामा राखेर बजेट माग गर्ने राखेपको योजना छ । साथै काम गर्ने खेल संघलाई मात्र मान्यता दिने, अनलाइन प्रणालीको विकास गर्ने, खेल विज्ञान प्रयोगशाला निर्माणमा पनि काम सुरु गर्ने राखेपले योजना बनाएको छ ।