ओलीकै निकट एमालेका नेता मेरो घर जलाउन आएका थिए – गगन थापा

कार्तिक ४, २०८२
ओलीकै निकट एमालेका नेता मेरो घर जलाउन आएका थिए – गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भदौ २४ गते आफ्नो घर जलाउनेहरुमध्ये नेकपा एमालेकै स्थानीय नेतासमेत रहेको खुलासा गर्नुभएको छ।

प्रदर्शनकारीहरु आफ्नो घर घेर्न आइपुग्दा आफू घरमै रहेको स्मरण गर्दै महामन्त्री थापाले भन्नुभयो,'म घरमै थिएँ। म सभापतिजीसँग कुरा गर्दै थिएँ। सरकार छोड्नुपर्यो भन्दै थिएँ। प्रदीप पौडेलसँग फोनमा कुरा गरिरहेको थिएँ, तपाईँहरुले भए पनि छोड्नुपर्‍यो भनिरहेको थिए।'

सोमबार प्रसारित फायरसाइडमा रुपेश श्रेष्ठसँग कुरा गर्दै थापाले एमाले अध्यक्ष केपी ओली निकट रहेका स्थानीय एमाले नेतासमेत आफ्नो घर जलाउन संलग्न रहेको बताउनुभयो। 'मेरै टोलको, पुरानो राजनीतिक दलको, सरकारमा रहेको दलको, अझ प्रधानमन्त्रीसँग विशेष पहुँच पनि भएको, त्यहाँको चुनाव समेत लडेको नेतै आएको छ मेरो घर जलाउन।

आफ्नै दल सरकारमा हुँदा पनि उसले आन्दोलनको आक्रोशको फाइदा उठाएको भन्दै थापाले भन्नुभयो,'ऊ त आफैं सरकारमा छ। सरकारसँग रिसाएको हो भने त ऊ आफैँ पनि सरकार हो।'

आफूले सीसी टिभी क्यामरामा आफ्नो घर जलाउन आउनेहरुलाई देखेको बताउँदै थापाले अर्का एक पात्रको कुरा पनि सुनाउनुभयो, 'काभ्रेको मान्छे हो । ऊ उमेरले पनि जेन जी पनि होइन। भर्खर बलात्कारको (सजायँबाट) छुटेर आएको छ । पहिला ऊ चाहिँ पुरानो राजनीतिक दलमै आबद्ध थियो।'

पुरानामात्र होइन, नयाँ दलका नेतासमेत आगजनी र तोडफोडमा सामेल रहेको उहाँको दाबी थियो।

'नयाँ राजनीतिक दलका त जिम्मेवारीमै बसेका साथीहरु नै आउनुभयो। मैले उहाँहरुलाई पछि टेक्स्ट पनि गरेको थिएँ, कस्तो लाग्यो मेरो घर भनेर ।'

त्यसदिन सरकार र राजनीतिक दलहरुसँग रिसाएका धेरै युवाहरु विरोध प्रदर्शन गर्न र आफ्नो आक्रोश पोख्न आएको भए पनि कतिपयले भने त्यसको दुरुपयोग गर्दै आफ्नो र अरु नेताहरुको घर तोडफोड र आगजनी गरेको उहाँको भनाइ थियो ।

अन्तर्वार्तामा थापाले आफू र आफ्नो परिवार कसरी त्यसदिन घरबाट जोगिएर निस्किन सफल भए भन्ने कुरा बताउनुभएको छ।

२३ र २४ को आन्दोलन र अराजकतालाई अलगअलग दृष्टिले हेर्नुपर्ने तर्क गर्दै थापाले नागरिक यति धेरै असन्तुष्ट छन् भन्ने सरकार र दलहरुले बुझ्न नसकेको स्पष्ट भएको जिकिर गर्नुभयो । 'मलाई अझै डर लागिरहेको छ । तर अझै पनि सम्हाल्न सकिन्छ भन्ने मलाई लाग्छ।'

थापाले मंसिरमा महाधिवेशन गर्न सकिने दाबी गर्दै फागुन २१ को निर्वाचनमा नेतृत्वको नयाँ अनुहारसँगै बदलिएको पार्टी लिएर जान आफू तयार रहेको बताउनुभयो।   

हेर्नुहोस्, फायरसाइडमा महामन्त्री गगन थापाको पूरा अन्तर्वार्ता :