प्राधिकरणले काट्यो डेडिकेटेड ट्रंकलाइनको बक्यौता नबुझाउने ६ उद्योगको लाइन

अन्य २५ वटाको लाइन पनि काट्दै जाने प्राधिकरणको भनाइ
कार्तिक ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्राधिकरणले काट्यो डेडिकेटेड ट्रंकलाइनको बक्यौता नबुझाउने ६ उद्योगको लाइन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड ट्रंकलाइनको बक्यौता नबुझाउने ६ वटा उद्योगको लाइन काटेको छ । अन्य २५ वटाको भने क्रमिक रुपमा लाइन काट्दै जाने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन बक्यौता रकम बुझाउन पछिल्लो पटक दिएको समय आइतबार सकिएको थियो ।त र सोमबार लक्ष्मीपूजा भएकाले प्राधिकरणले आज मात्र लाइन काटेको जनाएको छ ।

प्राधिकरणका अनुसार जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखााची सिमेन्ट इन्डस्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् लाइन काटिएको हो ।

प्राधिकरणका अनुसार जगदम्बाको १ अर्ब ६० करोड, रिलायन्सको ७५ करोड ३७ लाख, शिवमको ७७ करोड ८८ लाख, घोराहीको ५० करोड ८५ लाख, अर्घाखाँचीको ४४ करोड ८४ लाख र त्रिवेणीको ३२ करोड १० लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ । यो बक्यौता २०७२ माघदेखि २०७५ वैशाखसम्म डेडिकेटेड तथा ट्रंकलाइनमार्फत बिजुली प्रयोग गरेबापतको थप महसुल हो ।

प्राधिकरणले गत असोज १२ गते प्रशासकीय पुनरावलोकनसाग सम्बन्धित सम्पूर्ण कामकारबाही बदर गरिएको भन्दै १७ कात्तिकभित्र बक्यौता भुक्तान गर्न सूचना जारी गरेको थियो । बक्यौता तिर्न चाहने उद्योगीका लागि २८ महिनाको किस्ताबन्दी सुविधा दिइने सूचनामा उल्लेख छ । असोज १३ गते प्राधिकरणले अघिल्लो सूचना सच्याउँदै २ कात्तिकभित्र बक्यौता बुझाउन पुनः सूचना जारी गरेको थियो ।

प्राधिकरणका प्रवक्ता राजन ढकालले तिहारको सार्वजनिक बिदामा पनि उद्योगको बक्यौता रकम तिर्न सक्ने गरी काउन्टरको व्यवस्था गरिएको बताउनुभयो । उहाँले किस्ताको सुविधा लिएर पहिलो किस्ता तिरेमा जुनसुकै समयमा काटिएको लाइन पुनः जडान गरिने जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.