ला लिगामा एट्लेटिको मड्रिडको भिया रियालमाथि संघर्षपूर्ण जित

चैत्र २०, २०८० |कान्तिपुर टीभी संवाददाता
ला लिगामा एट्लेटिको मड्रिडको भिया रियालमाथि संघर्षपूर्ण जित

काठमाडौं । स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले भिया रियालमाथि दुई- एक गोलको संघर्षपूर्ण जित हात पारेको छ । जितपछि डिएगो सिमोयानीको टोली पुनः शीर्ष चारमा फर्किएको छ ।

लगातार दुई खेलमा हार बेहोरेपछि एट्लेटिको जित्नैपर्ने दबाबका बीच मैदान उत्रिएको थियो । यस्तै लिगका पछिल्ला सात खेलमा मात्र दुईमा जित हात पारेपछि  एट्लेटिको अर्को सिजन च्याम्पियन्स लिगका लागि छनोट नहुने खतरानजिक पुगेको थियो । चार खेलमा जित हात पार्दै लिगका पछिल्ला नौ खेलमा अपराजित रहेको भियारियालविरुद्ध पाहुना टोलीले सुरुवाती अग्रता लियो । 

उसका लागि नवौं मिनेटमा एक्सेल विटसेलले गोल गरेका थिए । ब्रेक अघि एट्लेटिको अग्रता जोगाउन सफल भयो ।  ५० औं मिनेटमा अलेजान्दर सोरलुथले गोल गर्दै खेल बराबरी गरे । ८७ औं मिनेटमा सब्सिच्युट साउल निगेजले गोल गरेपछि सिमोयानीले राहतको श्वास फेरेका हुन् । 

चौथो स्थानमा उक्लिएको एट्लेटिकोको ३० खेलबाट ५८ अंक छ । भियारियालको ३८ अंक छ र उ दसौँ स्थानमा छ । ७५ अंकसहित रियाल मड्रिड शीर्ष स्थानमा रहँदा दोस्रो स्थानको बार्सिलोनाको ६७ र तेस्रोमा रहेको जिरोनाको ६५ अंक छ  ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.