त्रिकोणात्मक टी-ट्वेन्टी आई सिरिज : नेदरल्यान्ड्सको लगातार दोस्रो जित, नामिबिया ५९ रनले पराजित

माइकल लेभिटको शतक
फाल्गुन १७, २०८० |कान्तिपुर टीभी संवाददाता
त्रिकोणात्मक टी-ट्वेन्टी आई सिरिज : नेदरल्यान्ड्सको लगातार दोस्रो जित, नामिबिया ५९ रनले पराजित

काठमाडौं । त्रिकोणात्मक टी-ट्वेन्टी आई सिरिजमा नेदरल्यान्ड्सले लगातार दोस्रो जित दर्ता गरेको छ । आज सम्पन्न खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनले पराजित गरेको हो । नेदरल्यान्ड्सको जितमा माइकल लेभिट र साइब्रान्ड एंगलब्रेक्टले दोस्रो विकेटका लागि विश्व कीर्तिमानी साझेदारी गर्दा लेभिटले शतकीय इनिङ्स खेले ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको डच टोलीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २४७ रनको विशाल योगफल तयार पारेको थियो । नेदरल्यान्ड्स आफ्नो टी-२० इतिहासकै सर्वाधिक योगफल तयार पार्दा यो त्रिवि मैदानमा बनेको हालसम्मकै उच्च स्कोर हो । यसअघि त्रिवि मैदानमा सन् २०२१ मा नेपालले नै नेदरल्यान्ड्सविरुद्ध २३८ रन बनाएको थियो ।

ओपनर म्याक्स ओ'डाउड ५ रनमा आउट भए पनि दोस्रो विकेटका लागि माइकल लेभिट र साइब्रान्ड एंगलब्रेक्टले १९३ रनको साझेदारी गरे । यो टी-ट्वेन्टी आईमा दोस्रो विकेटका लागि भएको हालसम्मकै उच्च साझेदारी हो । साथै नेदरल्यान्डसका लागि कुनै पनि जोडीले कुनै पनि विकेटका लागि गरेको सर्वाधिक ठूलो साझेदारीसमेत हो ।

लेभिट ६२ बलमा ११ चौका र १० छक्कासहित १३५ रन बनाएर आउट भए । यो डच टोलीका लागि टी-ट्वेन्टी आईमा कुनै पनि ब्याटरले बनाएको सर्वाधिक स्कोर हो । यसअघि म्याक्स ओ'डाउडले १३५ रन बनाएका थिए । एंगलब्रेक्टले ७५ रनको योगदान दिए । नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले २ तथा बेन शिकोन्गो र जान फ्रिलिन्कले १-१ विकेट लिए । ४ ओभरमा ५७ रन खर्च गरेका फ्रिलिन्क नामिबियाका लागि टी-ट्वेन्टी आईमा सर्वाधिक रन खर्च गर्ने खेलाडी बने ।

जवाफमा २४८ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८८ रन मात्र बनाउन सक्यो । उसका जान फ्रिलिन्क र जेन ग्रिनले समान ४२-४२ रन बनाउनुबाहेक अन्य ब्याटरको प्रदर्शन उल्लेखनीय हुन सकेन । यो जितसँगै नेदरल्यान्ड्सले २ खेलमा २ जितसहित ४ अंक जोडेको छ । ऊ तालिकाको शीर्ष स्थानमा छ । नामिबियाको २ खेलमा २ अंक छ भने समान खेलमा अंक जाड्न नसकेको नेपाल पुछारमा छ । प्रतियोगिताअन्तर्गत शुक्रबार हुने खेलमा नेपाल र नामिबिया प्रतिस्पर्धा गर्नेछन् । शनिबार नेपालले नेदरल्यान्ड्सको सामना गर्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.