काठमाडौं । नेपालले समूह विजेता बन्दै एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनल प्रवेश गरेको छ । आज भएको खेलमा नेपालले मालदिभ्सलाई २ सय १४ रनको फराकिलो अन्तरले पराजित गरेको हो । जारी प्रतियोगितामा नेपाल अपराजित छ ।
मलेसियाको क्वालालम्पुर स्थित वाईएसडी वाईकेएम ओवल, बांगीमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर २ सय २७ रनको विशाल योगफल बनाएको थियो । यो टी ट्वान्टी आईको इतिहासमा नेपालले बनाएकाने अहिलेसम्मको उच्च स्कोर हो । यअसघि सन् २०२१ मा कतारविरुद्ध नेपालले १ सय ६४ रन बनाएको थियो ।
सामान्य सुरुवात गरेको नेपालका ४ ब्याटर टिमको स्कोर ६४ रन हुँदा आउट भएका थिए । ओपनर कविता कुँवर १३ रनमा आउट भइन् । कप्तान इन्दु बर्मा गोल्डेन डक आउट भइन् । सिता राना मगर १५ र डली भट्ट ६ रनमा मैदानबाट बाहिरिए ।
पाँचौ विकेटका लागि रुविना क्षेत्री र पुजा महतोले १ सय ६३ रनको कीर्तिमानी साझेदारी गरे । यो कुनै पनि विकेटका लागि नेपाली महिला खेलाडीबीच भएको अहिलेसम्मकै उच्च साझेदारी हो । रुविनाले ५९ बलमा १ सय १८ रन बनाइन् । पूजा पनि ३६ बलमा ५९ रन बनाउँदै अविजित रहिन् । पूजाको करियरमा यो पहिलो अर्धशतक हो ।
साम्मा अलीले तीन विकेट लिइन् । जवाफमा मालदिभ्स १३ ओभर ५ बलमा मात्र १३ रनमा आउट भयो । कप्तान सौम्याले बनाएको ५ रन नै मालदिभ्सको इनिङको उच्च स्कोर बन्यो ।
६ खेलाडीले खाता खोल्न सकेनन् । अस्मिना कर्मचार्यले ४, पूजा र रुविनाले ३-३ विकेट लिए ।