एसीसी वुमन्स प्रिमियर कप : नेपालले भोलि माल्दिभ्सको सामना गर्ने

माघ २९, २०८० |कान्तिपुर टीभी संवाददाता
एसीसी वुमन्स प्रिमियर कप : नेपालले भोलि माल्दिभ्सको सामना गर्ने

काठमाडौं । एसीसी वुमन्स प्रिमियर कपमा नेपाली महिला क्रिकेट टिमले भोलि माल्दिभ्सको सामना गर्नेछ । सुरुका दुवै खेलमा जित दर्ता गरेको नेपाल अपराजित रहँदै समूह विजेता बनेर क्वार्टरफाइनलमा पुग्ने योजनामा छ ।

प्रिमियर कपको समूह डीमा नेपालसँगै रहेका भुटान, हङकङ र माल्दिभ्समध्ये सबैभन्दा कमजोर टोली माल्दिभ्सलाई मानिएको छ । यसअघि भुटान र हङकङसँग पनि विशाल अन्तरले पराजित भइसकेको माल्दिभ्सको नकआउट पुग्ने सम्भावना सकिएको छ । तर उसको लक्ष्य अन्तिम खेलमा विजय हुनेछ ।

यता नेपाली खेलाडी भने माल्दिभ्सविरुद्ध उत्कृष्ट व्यक्तिगत प्रदर्शन गर्ने लक्ष्यमा पनि हुनेछन् । अघिल्लो खेलमा हङकङकी मारिको हिल्सले माल्दिभ्सविरुद्ध शतक प्रहार गरेकी थिइन् । नेपालले पहिलो खेलमा हङकङलाई आठ विकेटले हराएको थियो । भुटान पनि नेपालसँग आठ विकेटले नै पराजित भएको थियो ।

नेपालले क्वार्टरफाइनलमा म्यानमार र कुवेतको भोलि हुने खेलको विजेतासँग खेल्नेछ । समूह चरणका खेल सकिएपछि पर्सिबाटै नकआउट चरणका खेल हुनेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.