इंग्लिस प्रिमियर लिगमा आर्सनलको फराकिलो जित

माघ २९, २०८० |कान्तिपुर टीभी संवाददाता
इंग्लिस प्रिमियर लिगमा आर्सनलको फराकिलो जित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आर्सनलले, वेस्ट ह्यामलाई ६-शून्य गोलले पराजित गरेको छ । प्रिमियर लिगमा आर्सनलले अवे खेलमा हात पारेको यो अहिलेसम्मकै फराकिलो जित हो ।

लन्डन स्टेडियममा गएराति भएको खेलमा मिकेल अर्टेटाको टोली पहिलो हाफमा नै चार शून्यको अग्रता लिन सफल भएको थियो । डेडलक तोड्न आर्सनलले खेल सुरु भएको ३२ मिनेटसम्म कुर्यो । विलियम सालिबाले टिमका लागि गोलको खाता खोले । ४१ औं मिनेटमा बुकायो साकाले पेनाल्टीमार्फत अग्रता दोब्बर बनाए ।

४४ औं मिनेटमा गाब्रिएलले गोल गरे । इन्जुरी समयमा लियान्द्रो ट्रसाडले गोल गर्दै घरेलु टोलीलाई स्तब्ध पारेका थिए । ६३ औं मिनेटमा साकाले व्यक्तिगत दोस्रो गोल गरे । ६५ औं मिनेटमा डेक्लन राइसको गोलसँगै आर्सनलले प्रभावशाली जित हात पार्यो ।

यसअघि आर्सनलले लिगमा सन् १९३५ मा एस्टन भिल्लालाई सात-एक गोलले हराएको थियो । प्रिमियर लिगको अवे कीर्तिमान भने १९९९ मा मिडल्सब्रो र २००९ मा एभर्टनलाई ६ -एक गोलले हराउनु थियो । वस्टह्यामले घरेलु मैदानमा बेहोरेको यो अहिलेसम्मको ठूलो हार हो ।

जितपछि आर्सनलले शीर्ष स्थानको लिभरपुलसँगको दूरी दुई अंकमा झारेको छ । २४ खेलबाट आर्सनल ५२ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । लिभरपुलको ५४ अंक छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीको पनि ५२ अंक छ । तर उसले एक खेल कम खेलेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.