नेपाल र क्यानडाबीचको तेस्रो तथा अन्तिम ओडीआई जारी

टस जितेको नेपालले फिल्डिङ रोजेपछि क्यानडा ब्याटिङमा
राष्ट्रिय टिममा हेमन्त धामीको डेब्यु
माघ २९, २०८० |कान्तिपुर टीभी संवाददाता
नेपाल र क्यानडाबीचको तेस्रो तथा अन्तिम ओडीआई जारी

काठमाडौं । नेपाल र क्यानडाबीचको तेस्रो तथा अन्तिम ओडीआईका लागि नेपालले टस जितेर फिल्डिङ रोजेको छ । 

सिरिजमा दुई-शून्यको अग्रता लिएको घरेलु टोली नेपाल क्लिन स्विप गर्ने लक्ष्यमा छ । खेल कीर्तिपुरस्थित टीयू मैदानमा हुँदै छ ।

मुख्य प्रशिक्षक मोन्टी देसाईले आजको खेलमा पनि प्लेइङ इलाभेन परिवर्तन गरेका छन् । यसअघि रिजन ढकाल, सूर्य तामाङ र आकाश चन्दलाई डेब्यु दिएका मोन्टीले आजको खेलमा अन्डर नाइन्टिन टिमका हेमन्त धामीलाई डेब्यु गराएका छन् ।

रोहित पौडेलको टिमले लगातार तेस्रो खेल जित्दै विश्व क्रिकेट लिग टु को तयारी पूरा गर्ने उद्देश्य राखेको छ । पहिलो खेलमा क्यानडालाई ७ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा चार विकेटले विजयी भएको थियो ।

अघिल्लो खेलमा सन् २०२२ पछि राष्ट्रिय टिममा फर्किएका अनिल साहले आक्रामक इनिङ्स खेल्दै कीर्तिमानी अर्धशतक बनाएका थिए । रोहित र देव खनालको तेस्रो विकेटका लागि १ सय ५० रनको जिम्मेवारीपूर्ण साझेदारीले नेपाल २ सय ८६ रनको लक्ष्य पूरा गर्न सफल भएको थियो ।

आज नेपालसामु फिल्डिङमा देखिएका कमजोरी सुधार गर्ने अवसर पनि छ ।

क्यानडा भने नेपाललाई क्लिन स्विप गर्नबाट रोक्ने प्रयासमा छ । पुवुदु दशानायके टिमको लगातार तेस्रो हार टार्न चाहन्छन् । पहिलो पटक नेपालविरुद्ध ओडीआई सिरिज खेलिरहेको क्यानडा पनि लिग टु अघि आजको खेल जित्दै लयमा फर्कने सोचमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.