सरकारले घोषणा गरेको पुरस्कार रकम खेलाडीलाई दिइयो

माघ २८, २०८० |कान्तिपुर टीभी संवाददाता
सरकारले घोषणा गरेको पुरस्कार रकम खेलाडीलाई दिइयो

काठमाडौं । सरकारले अन्डर नाइन्टिन विश्वकप खेलेर फर्किएपछि विश्वकप छनोट भएको टिमका सदस्यहरुलाई आज पुरस्कृत गरेको छ । एक वर्षअघि यूएईमा भएको आईसीसी यू-१९ पुरुष सीडब्ल्यूसी एसिया क्वालिफायरको उपाधि विजेता क्रिकेट टोलीका १४ खेलाडी, मुख्य प्रशिक्षक, टिम व्यवस्थापक र फिजियो गरी १७ जनालाई ४६ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको हो ।

खेलाडीमा देव खनाल, दीपेशप्रसाद कँडेल, दीपक बोहोरा, आकाश त्रिपाठी, उत्तम रंगु थापामगर, दीपकप्रसाद डुम्रे, अर्जुन कुमाल, आकाश चन्द, हेमन्त धामी, दीपक बोहोरा, दुर्गेश गुप्ता, सुवास भण्डारी, विशालविक्रम केसी र मिलन बोहोरा छन् । सबैले जनही तीन लाख रुपैयाँ नगद पुरस्कार हात पारे । मुख्य प्रशिक्षक जगतबहादुर टमाटाले दुई लाख तथा टिम व्यवस्थापक विक्रम विष्ट र फिजियो पूर्णबहादुर तिरुवालाई समान १/१ लाख रुपैयाँ प्रदान गरियो ।

त्यसैगरी, थाइल्यान्डको बैंककमा भएको एएसबीसी यू-२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपका पदक विजेता खेलाडी र प्रशिक्षकलाई आइतबार पुरस्कृत गरिएको छ । ४ खेलाडी, समान १/१ मुख्य प्रशिक्षक र सहायक प्रशिक्षकलाई जम्मा १६ लाख ८० हजार रुपैयाँ प्रदान गरियो ।

उक्त प्रतियोगितामा सुष्मा तामाङले रजत तथा हेमा राई, त्रिशा जबेगू र विजय बाटाले कास्य जितेका थिए । सुष्माले ६ लाख पाइन् भने बाँकीले जनही ३ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । मुख्य प्रशिक्षक दीपक महर्जनले एक लाख ८ हजार तथा सहायक प्रशिक्षक सन्दीप श्रेष्ठले ७२ हजार रुपैयाँ पाए ।

उनीहरुलाई युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थलगायतले सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच पुरस्कृत गरे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.