एसीसी महिला प्रिमियर कपको पहिलो खेलमा नेपाल विजयी, हङकङ ८ विकेटले पराजित

माघ २७, २०८० |कान्तिपुर टीभी संवाददाता
एसीसी महिला प्रिमियर कपको पहिलो खेलमा नेपाल विजयी, हङकङ ८ विकेटले पराजित

काठमाडौं । एसीसी महिला प्रिमियर कपमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियाको सेलाङ्गोर टर्फ क्लबमा नेपालले हङकङलाई ८ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

नेपालले टस जितर फिल्डिङ रोजेपछि सुरुवाती ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ९३ रन बनाएको थियो । जवाफमा नेपालले १४ दशमलब १ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

टिमको स्कोर ११ रन हुदाँ ओपनर कविता कुँवरलाई ४ रनमा गुमाए पनि सिता राना मगर र कप्तान इन्दु बर्माले ७६ रनको साझेदारी गर्दै नेपाललाई सहज अवस्थामा पुर्‍याए । महिला टी–२० आईमा दोस्रो विकेटका लागि नेपाली ब्याटरहरुले गरेको यो दोस्रो ठूलो साझेदारी हो । 

१२ ओभर ५ बलमा इन्दु ४० रनमा बाहिरिँदा नेपाललाई जितका लागि केवल ७ रन आवश्यक थियो । सिताले ३६ रनमा अविजित रहँदा रुविना क्षेत्रीले खाता खोल्नु अघि नै नेपाल विजयी भयो । योसँगै नेपालले समूह डीमा २ अंक जोडेको छ । यस समूहमा नेपाल र हङकङसहित माल्दिभ्स र भुटान छन् । नेपालले आफ्नो दोस्रो खेलमा भोलि भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

पहिले ब्याटिङमा आएको हङकङका लागि कप्तान चान का यिङ क्यारीले सर्वाधिक २१ रन बनाइन् । यस्तै, मर्यम बिबीले १८ रन बनाइन् । यास्मिन दस्वानीले १५ रन जोडिन् । ओपनर नताशा माइल्सले ११ रनको योगदान गर्दा हङकङका अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् ।

नेपालका लागि रुबिना क्षेत्री र पूजा महतोले २–२ विकेट लिए । रुबिनाले ४ ओभरमा १५ रन खर्चिंदै २ विकेट लिइन् भने पूजाले ४ ओभरमा १९ रन खर्चिन् । यस्तै, सिता राना मगर र कविता जोशीले १-१ विकेट लिए । कविता यसै खेलबाट टिममा कमब्याक गरेकी हुन् । 

एसीसी महिला प्रिमियर कपमा १६ टोलीको सहभागिता छ । १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ भने फाइनल पुग्ने दुई टोलीले एसीसी महिला एसिया कप खेल्नेछन् । यस्तै, सेमिफाइनल पुग्ने चार टोलीले इमर्जिङ एसिया कप खेल्नेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.