पल्सर स्पोर्ट्स अवार्डको वर्ष युवा खेलाडीमा दीपेश र देव खनाल, अरु को को परे ?

माघ २३, २०८० |कान्तिपुर टीभी संवाददाता
पल्सर स्पोर्ट्स अवार्डको वर्ष युवा खेलाडीमा दीपेश र देव खनाल, अरु को को परे ?

काठमाडौं । एनएसजेएफ-पल्सर स्पोर्ट्स अवार्ड २०७९ को वर्ष युवा खेलाडी र वर्ष प्रशिक्षकको मनोनयन सार्वजनिक भएको छ ।

मञ्चले विज्ञप्ति जारी गर्दै आज वर्ष उत्कृष्ट युवा खेलाडी र वर्ष प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको हो । पहिलो चरणमा दुवै विधामा उत्कृष्ट ८/८ जना मनोनयनमा परेका छन् । वर्षका युवा खेलाडी मनोनयनमा राममाया बुढा (एथलेटिक्स), सुष्मा तामाङ (बक्सिङ), सुजाता तामाङ (फुटबल), युनेश बुढाथोकी (फुटबल), विजय बाटा (बक्सिङ), देव खनाल (क्रिकेट), दीपेश कँडेल (क्रिकेट), सद्भाव आचार्य (गल्फ) परेका छन् ।

वर्षका उत्कृष्ट प्रशिक्षकको मनोनयनमा चन्द्र गुरुङ (एथलेटिक्स), दीपक महर्जन (बक्सिङ), भगवती रानामगर (फुटबल), अनन्त थापा (फुटबल), भरत शाह (भलिबल), ओङ्देन लामा (पौडी), जगत टमाटा (क्रिकेट) र मोन्टी देशाई (क्रिकेट) परेका छन् ।

‘वर्ष २०७९ मा गरेको प्रदर्शनका आधारमा खेलाडी र खेललाई सफलता दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका प्रशिक्षकलाई मनोनयनमा परेका हुन् । दुवै विधाको मनोनयनमा पर्ने खेलाडीको प्रदर्शन बुँदागत प्रस्तुत गरिएको छ,’ मञ्चद्वारा जारी विज्ञप्तिमा छ ।

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २०औं संस्करण यही माघ २८ गते होटल याक एन्ड यतीमा हुनेछ । मञ्चले विगतमा चार विधामा उत्कृष्ट ५ को मनोनयन सार्वजनिक गर्दै आएको थियो । यस पटकदेखि नयाँ प्रयोग थालेको पनि जानकारी दिएको छ । ‘वर्षभर उत्कृष्ट प्रदर्शन गर्ने बढीभन्दा बढी खेलाडीहरूलाई स्पोर्ट्स अवार्डमा समेट्ने उद्देश्यले यो प्रयोग गरिएको हो,’ विज्ञप्तिमा भनिएको छ ।

अब मनोनयनमा परेका आठ जनाबाट उत्कृष्ट तीन खेलाडी र प्रशिक्षको छनोट केही दिनमा सार्वजनिक गरिनेछ । अन्तिम मनोनयन सूचीमा परेका तीनमध्येबाट कार्यक्रमको दिन विजेता चयन गरिनेछ । मञ्चले वर्ष पुरुष खेलाडी र वर्ष महिला खेलाडीको मनोनयन यसअघि नै सार्वजनिक गरिसकेको छ । पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ ।

पिपल्स च्वाइसमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ मनोनयनमा परेका छन् । भोटिङका आधारमा यो विधाको विजेता टुंगो लाग्नेछ ।

स्पोर्ट्स अवार्डका अन्य विधा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डको घोषणा भने माघ २८ गते कार्यक्रमकै दिन घोषणा हुनेछ ।

स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकमा हंशराज हुलासचन्द एन्ड कम्पनी तथा सह-प्रायोजक र सहयोगीमा ई-सेवा, केल्मी, सूर्य नेपाल प्रालि, होटल याक एन्ड यती, युनाइटेड अजोड इन्स्योरेन्स, लालपूर्जा नेपाल, सुबिसु, रोयल सिंगी होटेल, प्लाजा ग्रुप अफ होटल्स, आईएसएस, ई-ड्राइभ नेपाल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी रहेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement