काठमाडौं । अस्ट्रेलियाविरुद्धको बोर्डर-गावस्कर ट्रफीको पाँचौं टेस्टको पहिलो इनिङमा भारतीय टोली १ सय ८५ रनमा अलआउट भएको छ । पहिलो दिनको समाप्तिमा अस्ट्रेलियाले ९ रन जोड्दा १ विकेट गुमाएको छ ।
सिड्नी क्रिकेट मैदानमा रोहित शर्माको स्थानमा जसप्रित बुमराहले भारतको कप्तानी गरिरहेका छन् । रोहित शर्मालाई आराम दिइएको छ । भारतले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । खराब सुरुवात गरेको उसले पहिलो सेसनमै ३ विकेट गुमायो । केएल राहुल ४ रनमा आउट भए ।
चौथो टेस्टमा टिम बाहिर रहेका शुभमन गिलले पनि २० रन मात्र बनाउन सके । यशस्वी जैसवालले १० रनमै बाहिरिए । दोस्रो सेसनको सुरुवातमै विराट कोहलीलाई १७ रनमा गुमाएपछि भारत थप खराब अवस्थामा पुग्यो । ऋषभ पन्तले सर्वाधिक ४० रन बनाए । रविन्द्र जडेजा २६ रन बनाएर आउट भए ।
अस्ट्रेलियाका स्कट बोल्याण्डले ४ विकेट लिए । मिचेल स्टार्कले ३ तथा कप्तान प्याट कमिन्सले २ र नाथन लियोनको नाममा १ विकेट रह्यो । दिनको तीनवटै सत्र अस्ट्रेलियाले डोमिनेट गरेपछि भारतका लागि दवाब बढेको छ । स्टम्प्सभन्दा ठीक अघि अस्प्रित बुमराहले उस्मान ख्वाजालाई २ रनमा आउट गरेपछि अस्ट्रेलियाले ९ रन जोड्दा पहिलो विकेट गुमाएको थियो ।
पहिलो दिनको खेल सकिएलगत्तै साम कोन्स्टास ७ रनमा अविजित फर्किएका छन् । दोस्रो दिनको सुरुवातमा कोन्स्टासले क्रिज सम्हाल्ने छन् ।
पाँच खेलको सिरिजमा अस्ट्रेलिया २-१ ले अघि छ । डब्ल्यूटीसीको फाइनलमा पुग्ने आशा जीवित राख्न भारतलाई जित्नै पर्ने दबाब छ । यो खेल जिते अस्ट्रेलियाले फाइनलमा दक्षिण अफ्रिकासँगको भेट पक्का गर्ने छ ।