ला लिगामा आज रियल मड्रिड र भ्यालेन्सिया भिड्दै

पुस १९, २०८१ |खेल ब्युरो
ला लिगामा आज रियल मड्रिड र भ्यालेन्सिया भिड्दै

काठमाडौं । स्पेनिस ला लिगामा आज रियल मड्रिडले भ्यालेन्सियाको सामना गर्दै छ । भ्यालेन्सियाको घरेलु मैदानमा खेल नेपाली समय अनुसार राति पौने २ बजेबाट सुरू हुने छ ।

क्रिसमसअघि सेभिल्लालाई ४-२ ले पराजित गरेयता ब्रेकमा गएको रियल पहिलो पटक मैदानमा उत्रिन लागेको हो । दुई टोलीबीचको खेल गत नोभेम्बरमै खेलिने तालिका थियो । तर भ्यालेन्सियन क्षेत्रमा घातक बाढी आएपछि खेल स्थगित गरिएको थियो ।

साविक विजेता रियलका लागि यो खेल निकै महत्त्वपूर्ण रहने छ । यस खेलमा तीन अंक जोडे ऊ स्थानीय प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडलाई पछि पार्दै ला लिगाको शीर्ष स्थानमा उक्लिने छ ।

कार्लो एन्सेलोट्टीको टोलीलाई खेलाडीको चोटले भने समस्यामा पारेको छ । तीन प्रमुख डिफेन्डरहरू विना मैदान उत्रर्नुपर्ने भएपछि रक्षापंक्तिमा रियलका लागि चुनौती थपिएका छन् । अर्कोतर्फ रेलिगेशन जोनमा रहेको भ्यालेन्सियालाई बलियो रियल विरुद्ध जित हात पार्न उत्कृष्ट प्रदर्शन गर्नुपर्ने छ । 

अन्तिम ५ खेलमा जितविहीन भ्यालेन्सिया यस खेल मार्फत लय समात्ने लक्ष्यमा हुने छ । दुई टोलीबिच खेलिएका पछिल्ला ५ खेलमा रियलले ३ र भ्यालेन्सियाले १ खेल जितेको छ । १ खेल बराबरीमा टुंगिएको छ । 

रियल १८ खेलमा १२ जित सहित ४० अंक जोडेर लिगको दोस्रो स्थानमा छ । ऊ लिग लिडर एट्लेटिको भन्दा १ अंकले मात्र पछि छ । १७ खेलमा केवल २ खेल जितेको भ्यालेन्सिया पुछारबाट दोस्रो स्थानमा छ ।



Enter Kantipur TV HD
Advertisement