राष्ट्रिय क्रिकेटमा किन खस्यो कोशीको स्तर ?

माघ ७, २०८० |विनयज्योति सापकोटा
राष्ट्रिय क्रिकेटमा किन खस्यो कोशीको स्तर ?

काठमाडौं । डेढ दशक अघिसम्म राष्ट्रिय क्रिकेट टिमका महत्त्वपूर्ण खेलाडी उत्पादन गर्ने कोशी प्रदेश अहिले आफ्नै अस्तित्व जोगाउन संघर्षरत छ । जारी प्रधानमन्त्री कपमा अन्य प्रदेशले विभागीय टिमलाई चुनौती दिँदा अहिलेसम्म जितविहीन एक मात्र टोली कोशी नै हो । छैटौँ खेलसम्म पनि अंकको खाता खोल्न नसकेको कोशी प्रतियोगिता पूर्व नै खेलाडी छनोटलाई लिएर विवादमा आएको थियो । यो विवादलाई कमजोर प्रदर्शनले थप बल पुर्‍याइदिएको छ । 

आइतबार कोशी र गण्डकी प्रदेशलाई एक आपसविरुद्ध उत्रँदा जारी प्रतियोगितामा हारको शृङ्खला अन्त्य गर्ने अवसर थियो । जसमा गण्डकी सफल हुँदा कोशीले भने खराब कीर्तिमान बनायो । १ सय ६८ रनको लक्ष्य पछ्याएको कोशी २५ रनमा अल आउट भयो । जुन प्रतियोगिताको इतिहासकै कम योगफल हो । राम्राभन्दा पनि आफ्ना मान्छेलाई टिममा राखेकै कारण पछिल्लो समय कोशीको स्तर खस्केको आरोप लाग्दै आएको छ । छनोट समितिका संयोजक रहेका सुरेश गुरागाईँ नै टिम व्यवस्थापक छन् । 

प्रधानमन्त्री कपको पहिलो खेलमा कोशी मधेशसँग सात विकेटले पराजित भयो । त्यसपछि एपीएफसँग ६ विकेट, पुलिससँग सात विकेट, आर्मीसँग नौ विकेट, बागमतीसँग ६४ रन र गण्डकीसँग १ सय ४२ रनको हार बेहोर्‍यो । अहिलेसम्म कोशीका सुजन थपलियाले एक शतक र अंकित सुवेदीले अर्धशतक प्रहार गरे । अभ्यास तिमिल्सिनाले एक खेलमा ६ सहित ९ विकेट विकेट लिएका छन् । बाँकी खेलाडीको प्रदर्शन बिर्सनलायक छ ।

छनोटमा विवाद त देखिएको थियो नै, त्यसपछि पनि कोशीले खेलाडीको क्षमता बढाउन कुनै पहल गरेन । लगानीको र एक्सपोजरको अभाव पनि खेलाडीको प्रदर्शनमा परेको छ । 

अब कर्णाली, सुदूरपश्चिम र लुम्बिनीसँग खेल्न बाँकी भए पनि जितविहीन हुँदै फर्किनु पर्ने हो कि भन्ने डर कोशीलाई छ । क्रिकेटका लागि कुनै बेलाको उर्वरभूमि पूर्व अहिले इतिहासकै कमजोर र खराब अवस्थामा छ ।


Image

विनयज्योति सापकोटा

सापकोटा कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement