के हुन् नारायणी क्रिकेट मैदानका चुनौती ?

पुस १८, २०८० |माधुरी महतो
के हुन् नारायणी क्रिकेट मैदानका चुनौती ?

काठमाडौं । धेरै दर्शक क्षमता भएका देशका सीमित रङ्गशालामध्येको एक नारायणी रङ्गशालाकै छेउमा छ-नारायणी क्रिकेट मैदान । जहाँ हालै राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता सम्पन्न भयो । भौतिक पूर्वाधार विकास तथा व्यवस्थापनमा तीनै तहका सरकारको ध्यान नपुगेको यो रङ्गशालामा अभावका बीच प्रतियोगिता आयोजना गर्नु पर्दा विभिन्न चुनौती झेल्नुपरेको आयोजकको गुनासो छ ।

यो रङ्गशालामा कुनै समय ठूला क्रिकेट प्रतियोगिता सञ्चालन भएका थिए । तर बीचमा आएर संरक्षण अभावमा यो मैदान गाईभैँसी चर्ने चउरमा परिणत भइसकेको थियो । तर एक दशक पछि यो रंगशालाको गौरव फर्कियो । राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका खेलाडी सम्मिलित क्रिकेट टुर्नामेन्टले रंगशाला जीवन्त बन्यो । 

वीरगन्ज महानगरपालिकाले १६ लाख रुपैयाँ खर्चेर प्रतियोगिताका लागि मैदानलगायतको व्यवस्थापन गर्‍यो । यही मैदानमा अभ्यास गरी खेल जीवनको सुरुवात गरेका खेलाडीहरूले यहाँ प्रो क्लब च्याम्पियनसिप खेले । वर्षौँदेखि प्रतियोगिता आयोजना हुन नसक्दा जीर्ण बन्दै गएका संरचनाप्रति भने दर्शकले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रो क्लब च्याम्पियनसिपको दोस्रो संस्करणमा नेपाल र भारतका ६ टोली सहभागी थिए । यस स्तरको प्रतियोगिता आयोजना गर्न अन्य ठाउँमा सुविधा सम्पन्न रंगशाला भए पनि वीरगन्जका क्रिकेट प्रेमीहरूको चाहनालाई सम्मान गर्दै अभावका बीच पनि यो मैदान रोजेको आयोजक बताउँछन् ।

यही मैदानमा अभ्यास गर्दै खेल जगत्‌मा पाइला टेकेका खेलाडीमध्ये ७ जनाले  राष्ट्रिय अन्तराष्ट्रिय स्तरको क्रिकेटमा ख्याति आर्जन गरी देशको गौरव बढाइरहेका छन् । तर दशकौँसम्म पनि रंगशालाको अवस्था सुधार नहुँदा भने उनीहरू खिन्न छन् । 

यो मैदानमा ठूला प्रतियोगिता आयोजना गर्न मैदान मर्मत सम्भार र व्यवस्थापन नै मुख्य चुनौती देखिएको छ ।


Image

माधुरी महतो

महतो कान्तिपुर टेलिभिजनकी पर्सा संवाददाता हुन् ।