पुनरागमन जितसँगै शीर्षस्थानमा फर्कियो लिभरपुल

मंसिर २४, २०८० |कान्तिपुर टीभी संवाददाता
पुनरागमन जितसँगै शीर्षस्थानमा फर्कियो लिभरपुल

लन्डन । लिभरपुलले प्रिमियर लिगमा क्रिस्टल प्यालेसमाथि २ - १ गोलको पुनरागमन जित हात पारेको छ । मोहम्मद सालाहले क्लबका लागि दुई सयौँ गोल पूरा गरेको खेलमा लिभरपुल शीर्षस्थानमा फर्किएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दश खेलाडीमा समेटिएको घरेलु टोली क्रिस्टल प्यालेसले १ - ० गोलको अग्रता जोगाउन सकेन । ५७ औं मिनेटमा प्यालेसलाई फिलिप माटेटाले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए । 

७५ औं मिनेटमा जोर्डन आएउ दोहोरो पंहेलो कार्ड पाउँदै मैदान बाहिरिएपछि प्यालेस दश खेलाडीमा झर्‍यो । त्यसको ९८ सेकेन्डमा सालाहले गोल गर्दै खेल एक एकको बराबरीमा पुर्‍याए । लिभरपुलका लागि इजिप्टका फरवार्ड सालाहको यो २ सय गोल हो । सालाह क्लबका लागि यो सफलता हात पार्ने केवल तेस्रो खेलाडी हुन् । प्रिमियर लिगमा उनले १ सय ५० गोल गरेका छन् ।

इन्जुरी समयमा हार्भी इलियोटले योर्गन क्लोपको टोलीका लागि विजयी गोल प्रहार गरे । इन्जुरी समय दश मिनेट थपिएको थियो । जितपछि मुख्य प्रशिक्षक क्लोपले सालाहलाई विषेश खेलाडीका रुपमा व्याख्या गरेका थिए ।

शीर्षस्थानको लिभरपुलको १६ खेलबाट ३७ अंक छ । प्यालेस १६ अंकका साथ १५ औं स्थानमा छ । लिगका अन्य खेलमा उल्भ्स र नटिङगम फरेस्टले एक-एक तथा ब्राइटन र बर्नलीले पनि एक-एक गोलको बराबरी खेले । शेफिल्ड युनाइटेडले ब्रेन्टफर्डलाज्ञ १ - ० गोलले हरायो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.