एस्टन भिल्लासँग आर्सनल पराजित

मंसिर २४, २०८०
एस्टन भिल्लासँग आर्सनल पराजित

लन्डन । इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लाले आफ्नो उत्कृष्ट प्रदर्शनलाई जारी राखेको छ । गएराति भएको खेलमा भिल्लाले शीर्ष स्थानको दौडमा रहेको आर्सनललाई १ - ० गोलले पराजित गरेको हो ।

भिल्ला पार्कमा खेल सुरु भएको सातौँ मिनेटमै आर्सनलले गोल खाएको थियो । घरेलु टोलीका लागि कप्तान जोन मिक्गेनले गोल गरेका थिए । १ - ० ले पछि परेको आर्सनलले खेलमा फर्कन प्रयास गरेपनि सफल भएन ।

मार्टिन ओडेगार्डको प्रहार भिल्ला गोलिकपर इमिलियानो मार्टिनेजले गोलमा परिणत हुनबाट जोगाए । काई हाभर्टसको गोल अफ साइड भएपछि आर्सनल खेल बराबरी गर्नबाट चुकेको थियो । भीएआरको परीक्षणपछि उनको गोलले मान्यता पाएन । आर्सनलले खेलमा दबाब दिए पनि एस्टन भिल्लाले महत्वपूर्ण तीन अंक बटुल्यो । उसले प्रिमियर लिगको अघिल्लो खेलमा म्यान्चेस्टर सिटीमाथि पनि १ - ० गोलको जित हात पारेको थियो । भिल्लाको घरेलु मैदानमा यो कीर्तिमानी १५ औं जित हो ।

भिल्लाले पछिल्लो पटक सन् १९८०–८१ मा प्रिमियर लिग उपाधि जितेको थियो । यो पटक भिल्ला उपाधि जित्न सक्ने सम्भावनामा पुगेको छ ।

तालिकाको तेस्रो स्थानमा रहेको भिल्लाको १६ खेलबाट ३५ अंक छ । जुन शीर्ष स्थानको लिभरपुलभन्दा मात्र दुई अंकले पछि हो । भिल्लाले शीर्ष डिभिजनमा आफ्नो मैदानमा लिगको सुरुवाती आठ खेल जितेको १९३२–३३ पछि यो पहिलो पटक हो ।

शीर्ष स्थानमा उक्लने मौका गुमाएको आर्सनलको सबै प्रतिस्पर्धामा गरी ६ खेल देखिको अपराजित यात्रामा पनि ब्रेक लागेको छ । दोस्रो स्थानमा रहेको उसको ३६ अंक छ ।