‘अन्डर- १९ एसिया कप’ आफूलाई प्रमाणित गर्ने अर्को अवसर हो : गुल्सन

मंसिर १७, २०८० |सविना कार्की
‘अन्डर- १९ एसिया कप’ आफूलाई प्रमाणित गर्ने अर्को अवसर हो : गुल्सन

काठमाडौं । गुल्सन झा मात्र १८ वर्षका भए । तर, राष्ट्रिय टिममा उनको परिपक्व उपस्थिति रहँदै आएको छ । सिमियर टिमबाट विश्व क्रिकेट लिग टु, एसीसी मेन्स प्रिमियर कप र टी-ट्वेन्टी विश्वकप छनोटमा उनको प्रदर्शन महत्त्वपूर्ण रह्यो । 

बिग म्याच विनरका रूपमा परिचित अल राउन्डर गुल्सन यो वर्ष दोस्रो पटक एसिया कप खेल्दै छन् । मङ्सिर २२ गते युएईमा सुरु हुने अन्डर नाइन्टिन एसिया कप खेल्ने टिममा गुल्सन समावेश छन् । उनी भन्छन्- आफूलाई प्रमाणित गर्ने यो अर्को अवसर हो ।

गुल्सन दायाँ हाते बलर र बायाँ हाते ब्याटर हुन्  । सन् २०२३ मा नेपालले प्राप्त गरेका अन्तर्राष्ट्रिय सफलतामा गुल्सनको महत्त्वपूर्ण योगदान रह्यो । लिग टु को अन्तिम खेलमा उनले विस्फोटक ब्याटिङ गर्दै ४८ बलमा अविजित ५० रन बनाएपछि नेपालले यूएईलाई पराजित गरेर शीर्ष तीनमा स्थान बनाएको थियो । जसका कारण नेपालले सिधै एकदिवसीय विश्वकप ग्लोबल क्वालिफायर खेल्ने मौका पायो । 

विश्वकप छनोटको सेमिफाइनलमा यूएईविरुद्ध उनले अल राउन्ड प्रदर्शन गरे । सोही खेल जित्दै नेपाल सन २०१४ पछि टी-ट्वेन्टी विश्वकपमा छनोट भयो । प्रिमियर कपको फाइनलमा  गुल्सनले यूएईविरुद्धनै अविजित ६७ रनको महत्त्वपूर्ण इनिङ्स खेलेपछि नेपाल एसिया कपमा स्थान बनाउन सफल भएको थियो । 

एसिया कपमा नेपाली क्रिकेटले इतिहासमै पहिलो पटक भारत र पाकिस्तानसँग खेल्ने मौका पायो । उनै गुल्सन फेरि एसिया कप खेल्न अन्डर नाइन्टिन टिमसँग युएई जाँदै छन् । प्रतिस्पर्धी फेरि पनि भारत र पाकिस्तान नै छन् । टिममा उनी अल राउन्डरकै भूमिकामा रहनेछन् ।

गुल्सनको आगमनले टिमका अन्य खेलाडीमा पनि आत्मविश्वास बढेको छ । आफूमाथि राखिएको अपेक्षालाई जिम्मेवारीका रूपमा बहन गर्ने गुल्नसने बताए ।

गुलसनसँग सियिनर टिमबाट एसिया कपमा भारत र पाकिस्तानसँग खेलेको अनुभव छ । संयोग बस अन्डर नाइन्टिनमा पनि नेपाल रहेको समूहमा अफगानिस्तानसँगै भारत र पाकिस्तान नै छन् । लिग टु साइकल सुरु हुनुअघि आफूले दुई ठूला अवसर पाएको गुल्सनको बुझाइ छ ।

उमेर समूहमा नेपालले टेस्ट टोली भारत, न्युजिल्यान्ड, दक्षिण अफ्रिका लगायतलाई हराइसकेको छ । के गुल्सन सम्मिलित टिमले फेरि इतिहास दोहोर्‍याउला त ?


Image

सविना कार्की

कार्की कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।