आई लिग खेल्न नेपाली २ खेलाडी भारत प्रस्थान

मंसिर १७, २०८० |कान्तिपुर टीभी संवाददाता
आई लिग खेल्न नेपाली २ खेलाडी भारत प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमका दुई खेलाडी आई लिग खेल्न भारत प्रस्थान गरेका छन् । गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा र डिफेन्डर गीता राना आज भारत प्रस्थान गरेका हुन् ।

यी दुवै खेलाडीले एफसी सेथुबाट आई लिग खेल्नेछन् । एन्जिलाले सेथुबाट अघिल्लो संस्करण पनि खेलेकी थिइन् । उनको कप्तानीमा सेथुले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।

भारतीय लिगमा लगातार खेल्दै आएकी सावित्रा भण्डारीले भने यो वर्ष आई लिग खेल्ने छैनन् । उनी इजरायली क्लब हापोएल रानानामा अनुबन्धित छिन् । अघिल्लो संस्करणको आई लिगमा अनुबन्धित भए पनि गीताले लिग गुमाएकी थिइन् ।

अघिल्लो वर्ष नेपालका आठ खेलाडीले आई लिग खेले पनि यो वर्ष भने दुई खेलाडीले मात्र अवसर पाएका हुन् । थप नेपाली खेलाडीलाई पनि आई लिगले अनुबन्ध गर्ने समय भने बाँकी नै छ। तर पछिल्लो समय नेपालमा महिला लिग नै नभएका कारण भारतीय टिमले यो वर्ष थोरै नेपाली खेलाडी मात्र अनुबन्ध गर्ने सम्भावना छ । सात क्लब सहभागी आई लिग डिसेम्बर ८ देखि मार्च २४ सम्म सञ्चालन हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.