यमनविरुद्धको खेलमा नेपाल २-शून्यले पराजित

मंसिर ५, २०८० |कान्तिपुर टीभी संवाददाता
यमनविरुद्धको खेलमा नेपाल २-शून्यले पराजित

काठमाडौं । फिफा विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपालले यमनसँग २-शून्य गोलको हार बेहोरेको छ । दशरथ रंगशालामा घरेलु समर्थकमाझ नेपाल लगातार दोस्रो पटक पराजित भएको हो ।

ठूलो सङ्ख्यामा उपस्थित भएका समर्थकमाझ नेपालले केही अवसर राम्रा पाए पनि गोल गर्न सकेन । फरवार्ड अञ्जन विष्ट, दिनेश हेन्जन र आशिष् चौधरीले गरेका प्रयास सफल हुन सकेनन् । 

यमनले सुरुआतबाटै घरेलु समर्थकलाई शान्त पार्ने प्रयास गरेको थियो । उसले खेलमा लगातार दबाब बनाइरह्यो । पहिलो हाफको इन्ज्युरी समयमा सेसेहाङ आङ्देम्बेले फल गरेपछि यमनले पेनाल्टी बक्स नजिकै फ्री किकको अवसर पाएको थियो । तर फ्री किकलाई नेपाली डिफेन्डरले क्लियर गरिदिएका थिए । 

दोस्रो हाफमा पनि नेपालले दबाब बनाउन सकेन । तर यमनले दबाब बनाए पनि फरवार्ड मोहम्मद हनसाह र हमजाह अहमदले गरेका प्रयास असफल भएका थिए । खेलको ६१ औँ मिनेटमा हिसुब थपलियाले पोस्टको नजिक पुगेर पनि गोल गर्न सकेनन् । उनी डेब्यू गोलको अवसरमा चुके । 

६५ औँ मिनेटमा यमनका अल खदेर सलिमले गरेको गोल भने रेफ्रीले अफसाइड करार गरिदिएका थिए । तर ७२ औँ मिनेटमा यमनले गल्ती गरेन । दोस्रो हाफमा मैदान पसेका ओमर अल दईले गोल गरेर पाहुना टोलीलाई अग्रता दिलाए । खेलको अन्तिम मिनेटमा मोहम्मद अब्दुल्लाह अल दहीले अग्रता दोब्बर पारे । 

उनको गोलले दशरथ रंगशालामा उपस्थित समर्थक स्तब्ध बनेका थिए। यससँगै नेपाल लगातार दोस्रो पटक पराजित भयो । यमनले भने पहिलो तीन अंक जोडेको छ । नेपालले पहिलो खेलमा पनि युएईसँग चार–शून्यको हार बेहोरेको थियो ।

बहराइनले यमनलाई दुई- शून्य गोलले हराएको थियो । नेपाल र यमनबीच अहिलेसम्म पाँचौ पटकसम्म नेपाल जितविहीन छ । समूह-एचमा तीन अंक जोडेका यूएई पहिलो, बहराइन दोस्रो र यमन तेस्रो स्थानमा छन् । 

अङ्कविहीन नेपाल चौथो स्थानमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.