इटाली युरोकप-२०२४ मा छनोट

मंसिर ५, २०८०
इटाली युरोकप-२०२४ मा छनोट

जर्मनी । साविक विजेता इटाली युरोकप-२०२४ का लागि सिधै छनोट भएको छ । गएराति भएको समूहको अन्तिम खेलमा युक्रेनसंग गोलरहित बराबरी खेल्दै इटालीले अर्को वर्ष हुने प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरेको हो।

जर्मनीस्थित लिभरकुसेनमा मैदान उत्रिदा इटालीलाई छनोट हुन युक्रेनसंगको हार टारे पर्याप्त हुने थियो । एक अंक लिएपछि इटाली समूह ‘सी’ को उपविजेता बन्यो । उसले आठ खेलबाट १४ अंक बटुल्यो ।

रुससंगको युद्धका कारण युक्रेनले घरेलु मैदानमा हुने खेल न्युट्रल भेन्यु लिभरकुसेनमा खेलेको हो । इन्जुरी समयमा उसले गरेको पेनाल्टी अपिललाई रेफ्रिले कुनै प्रतिक्रिया जनाएनन् । इटालियन गोलकिपर डोनारुम्माले केही युक्रेनी प्रहारको उत्कृष्ट बचाउ गरेका थिए ।

यसअघि भएको पहिलो लेगमा इटालीले युक्रेनमाथि २ - १ गोलको जित हात पारेको थियो । लगातार आठौं पटक युरोकपमा छनोट भएको हो । युक्रेनको पनि प्ले अफमार्फत छनोटको सम्भावना जीवितै छ । यो समूहमा इंग्ल्यान्ड अपराजित रह्यो ।

गएराति भएको समूहको अन्तिम खेलमा यसअघिनै युरोकपको फाइनल चरणमा पुगेको इंग्ल्यान्ड नर्थ मेसिडोनियासँग एक-एक गोलको बराबरीमा रोकियो । ४१ औं मिनेटमा घरेलु टोलीले अप्रत्यासित रुपमा अग्रता लिएको थियो । इंग्ल्यान्डका लागि डेब्यु गरेका रिको लेविसले बोयान मिभोस्कीलाई फल गरेपछि मेसिडोनियाले विवादास्पद पेनाल्टी पाएको थियो । कप्तान एनिस बार्दील पेनाल्टीमा चुके । तर उनले रिबाउन्ड बलमा गोल गर्दै इंग्ल्यान्डविरुद्ध अग्रता दिलाए ।

५९ औं मिनेटमा इंग्ल्यान्डले एनी एटानासोभको आत्मघाती गोलमार्फत खेल बराबरी गरेको हो । समूहको शीर्ष स्थानमा रहँदै छनोट टुंग्याएको हेरी केनको टोलीले आठ खेलमा २० अंक प्राप्त गरेको छ ।