विश्वकप छनोटमा आज नेपालले यमनसँग खेल्दै

मंसिर ५, २०८० |कान्तिपुर टीभी संवाददाता
विश्वकप छनोटमा आज नेपालले यमनसँग खेल्दै

काठमाडौं । फिफा विश्वकप छनोट खेलमा नेपालले आज यमनसंग प्रतिस्पर्धा गर्दैछ । दोस्रो चरणको छनोटमा नेपालले घरेलु मैदानमा पहिलो खेल खेल्न लागेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ सात बजे सुरु हुनेछ । सन् २००५ को एएफसी प्रेसिडेन्ड कप पछि नेपालमा साँझ सात बजे खेल हुन लागेको यो पहिलो पटक हो । नेपाली टिमका प्रशिक्षक भिन्चेन्सो अल्बर्तो एनेसले समर्थकको सुविधलाई मध्यनजर गर्दै आफूलेनै सात बजे खेल राख्न आग्रह गरेको बताए ।

कार्यलय जाने समर्थक काम सकेर टिमलाई साथ दिन रंगशाला आउने उनको विश्वास छ । गल्फ राष्ट्र यमनलाई काठमाडौंको चिसोमा खेल्न गाह्रो हुने र त्यसको फाइदा नेपालले उठाउने एन्फाले बताएको थियो । तर प्रि-म्याच कन्फरेन्समा यमनका प्रशिक्षक मिरोस्लाभ साउकुपले यसअघिको खेल काठमाडौंभन्दा बढी उचाइमा खेलेको भन्दै सात बजे हुने खेलले केही फरक नपार्ने प्रतिक्रिया दिए । नेपाल र यमन दुवै पहिलो जितको खोजीमा छन् ।

यसअघि भएको अवे खेलमा नेपालले यूएईसँग ४-० गोलको फराकिलो हार बेहोरेको थियो । नेपालले यूएईसँग चारै गोल पहिलो हाफमा खाएको थियो । बहराइनले यमनमाथि २-० गोलको जित हात पारेको थियो ।

नेपाल र यमनबीच अहिलेसम्म चार भेट हुँदा नेपाल जितविहीन छ । सन् २०१७ मा भएको एएफसी छनोटमा गोलरहित बराबरी खेल्नु यमनविरुद्ध नेपालको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो । नेपालका मिडफिल्डर लाकेन लिम्बुले यो खेल गुमाउने छन् । उनी अघिल्लो खेलमा चोटग्रस्त बनेका थिए । चोटकै कारण यूएईसंगको खेल गुमाएका अनुभवी डिफेन्डर अनन्त तामाङ भने मैदान फर्कने सम्भावना छ । समूह ‘एच’ मा तीन अंक जोडेको यूएई पहिलो र बहराइन दोस्रो स्थानमा छन् । अंकविहीन यमन तेस्रो र नेपाल चौथो स्थानमा छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.