यूएफा अध्यक्षको अभिव्यक्तिप्रति युक्रेनका प्रशिक्षकले गरे कडा आलोचना

मंसिर ४, २०८०
यूएफा अध्यक्षको अभिव्यक्तिप्रति युक्रेनका प्रशिक्षकले गरे कडा आलोचना

काठमाडौं । युक्रेनका प्रशिक्षक सेरही रेब्रोभले युरोपियन फुटबलको सर्वोच्च निकाय यूएफाका अध्यक्ष अलेक्जेन्डर सेफेरिनकोले इटालीले हार्नु विपत्ति हो भन्ने टिप्पणीको कडा आलोचना गरेका छन्। आइतबार आयोजित प्रि म्याच प्रेस कन्फरेन्समा प्रशिक्षक रेब्रोभले अध्यक्षको टिप्पणीको आलोचना गर्दै आफ्ना खेलाडी दु:खी भएको पनि बताएका हुन्।

युरोकप छनोटमा जर्मनीको लिभरकुसनमा समूह ‘सी’ अन्तर्गत आज राति साढे १ बजे युक्रेनले इटालीको सामना गर्दैछ। छनोटको समूह चरणको अन्तिम खेलमा युक्रेन र इटाली भिड्न लागेको हुन्।

एक खेल मात्र बाँकी रहँदा पनि युरोपियन च्याम्पियन इटाली युरोकपमा छनोट हुन सकेको छैन । यो खेलको विजेताले यूरोकपमा स्थान पक्का गर्नेछ भने अर्को टिमले प्ले अफ खेल्नुपर्ने छ । तर समूहमा दोस्रो स्थानमा भएको कारण इटालीले आजको खेलमा बराबरी पनि युरोकपमा स्थान बनाउन पर्याप्त हुनेछ।

यता एक महिनाअघि इटालियन मिडिया आउटलेटमा कुरा गर्दै यूएफा अध्यक्ष सेफरिनले इटाली युरोकपमा छनोट हुन नसके फुटबलका लागि विपत्ति सरह हुने प्रतिक्रिया दिएका थिए। त्यसैले खेलअघि भएको पत्रकार सम्मेलनमा युक्रेनी प्रशिक्षकले अध्यक्षको भनाइले आफू र आफ्नो टिमलाई दु:खी बनाएको बताएका हुन्। अहिले युक्रेन र रुसको युद्ध चलिरहेको कारण युक्रेनको सबै होम गेम्स न्युट्रल भेन्यूमा आयोजना गरिएको छ।

इटाली सन् २०१८ र २०२२ को विश्वकपमा पनि पुग्न सकेको थिएन । अहिले इटालीले चारमध्ये तेस्रो ठूलो प्रतियोगितामा नपुग्ने हो कि भन्ने अवस्थाको सामना गरिरहेको छ।

यता इटालीका प्रशिक्षक लुचानो स्पालेट्टीले आफ्नो टिमले युक्रेनलाई हराउन सक्ने बताएका छन्। इंग्ल्यान्डले समूह सी विजेताको रूपमा यूरो २०२४ स्थान सुरक्षित गरिसकेको छ। युरो छनोट अन्तर्गत आज राति समूह सी, ई, आई र एचको अन्तिम खेल हुँदैछन्। समूह ए, एफ, जी र जेका भने सबै खेल सम्पन्न भइसकेका छन्।