नेपाल टी-ट्वान्टी विश्वकप पुग्ने यस्ता छन् प्रेरक आधार

कार्तिक ११, २०८० |सुवास रोकाया
नेपाल टी-ट्वान्टी विश्वकप पुग्ने यस्ता छन् प्रेरक आधार
फाइल तस्बिर

काठमाडौं । सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी-ट्वेन्टी विश्वकप खेलेको नेपाल पछिल्ला तीन संस्करणमा छनोट नै हुन सकेन । तर, विश्वकप सहभागिताको एक दशकपछि नेपाललाई दोस्रो पटक आधुनिक क्रिकेटको सबैभन्दा लोकप्रिय फरम्याटमा छनोट हुने राम्रो अवसर छ । घरेलु मैदानमा आईसीसी टी-ट्वेन्टी विश्वकप एसिया क्षेत्र छनोटको सुरुवात, पछिल्ला प्रतियोगिताहरुमा गरेको प्रदर्शन, एसोसिएट टिमहरुसँगको अनुभव र घरेलु समर्थकको साथ नेपालका लागि विश्वकप छनोटका लागि प्रेरक आधार भएका छन् ।

जिम्बाब्वेमा ग्लोबल छनोट खेले पनि आसन्न आईसीसी विश्वकपमा स्थान बनाउन नसकेको नेपाल टी-२० आई विश्वकप छनोटको भने प्रबल दाबेदार हो । छनोट खेल्ने टोलीमध्ये शीर्ष वरीयताको नेपाल अन्तिम दुईमध्ये एकका लागि सबैभन्दा योग्य देखिन्छ । तर, अनिश्चितताले भरिएको क्रिकेट खेल, त्यसमा पनि टी-२० ढाचा, जहाँ एक ओभरको खराब ब्याटिङ वा बलिङले पनि खेलको नतिजामा पूरै फेरबदल ल्याउन सक्छ, यस्तो अवस्थामा नेपाली टोलीसँग उत्कृष्ट खेल्नुको विकल्प छैन ।

ओपनर आसिफ शेख राम्रो लयमा छन् । शुक्रबार सम्पन्न क्रिकोणात्मक सिरिजमा १ सय ५४ रन बनाएका आसिफ प्रतियोगिताको सर्वाधिक रनकर्ताको दोस्रो स्थानमा रहे । कुशल भुर्तेलले आफू फर्ममा फर्किएको देखाइसकेका छन् । नेपाललाई विश्वकपमा पुर्‍याउन यो जोडीको भूमिका प्रमुख हुने छ । यस्तै, आक्रामक ब्याटिङका लागि परिचित कुशल मल्लको प्रदर्शन पनि महत्वपूर्ण हुने छ । मध्य क्रममा कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरी नेपालका मेरुदण्ड हुन् । यो जोडीको ब्याटिङ र फिल्डिङ प्रदर्शनमा नेपालको विश्वकप सम्भावना टिकेको छ ।

राष्ट्रिय टोलीमा सन्दीप लामिछानेको पुनरागमन, ललित राजवंशी फिट हुनु छनोटअघि नेपालका लागि शुभ संकेत हुन् । दुवै स्पिनरलाई मध्यओभरमा विपक्षीको रन गतिमा अंकुश लगाउँदै विकेट लिने जिम्मेवारी हुनेछ । सोमपाल कामी र करण केसीको ओपनिङ स्पेल तथा अभिनाश बोहराको डेथ बलिङ राम्रो हुन सके विश्वकपका लागि नेपालको मार्ग प्रशस्त हुनेछ ।

तर, शुक्रबार सम्पन्न त्रिकोणात्मक सिरिजको फाइनलमा यूएईलाई सामान्य रुपमा लिँदा घरेलु मैदानमा नेपालको १६ खेलको अपराजित यात्रामा पूर्णविराम मात्र लागेको थिएन युएईले सिरिजको उपाधिसमेत उचालेको थियो । त्यसकारण विश्वकपको सपना पूरा गर्न नेपालले कुनै पनि विपक्षीलाई कमजोर आकलन गर्ने गल्ती गर्नु हुँदैन । पावर प्लेमा विकेट लिनु, मध्य ओभरमा विकेटसहितको स्पिनरहरुको किफायती स्पेल र डेथ ओभरमा विपक्षीलाई रोक्नु नेपालका आगि आवश्यक हुने छ । ब्याटिङमा राम्रो सुरुवात, मध्यक्रममा राम्रो रन गतिका साथ साझेदारी, आक्रामक फिनिसिङ र फिल्डिङ गरे नेपाललाई विश्वकप पुग्नबाट कसैले रोक्न सक्ने छैन ।


Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement