कबड्डी खेलाडी नन्दभाउजूको कथा...

कार्तिक ८, २०८० |प्रदीप लेखी
कबड्डी खेलाडी नन्दभाउजूको कथा...

काठमाडौं । हाङचोउमा सम्पन्न १९औं एसियाडमा पदकको खडेरी भइरहेका बेला कास्य जितेर सम्पूर्ण नेपालीको मुहारमा खुसी दिलाउने अभुतपूर्व कार्य नेपाली महिला कबड्डी टिमले गरेका थिए । त्यही टिममा महत्त्वपूर्ण भूमिका निभाउने दुईजना यस्ता खेलाडी थिए जो नातामा नन्द र भाउजू पर्छन् । नन्द मानमती विष्ट र भाउजू नीतु गुरुङ हुन् । दुवैजना नेपाल पुलिसका खेलाडी हुन् ।

आमनेपालीलाई खुसी दिलाउन नेपाली महिला कबड्डीको महत्त्वपूर्ण भूमिका रह्यो । नेपालबाट २९ खेल सहभागी रहेको एसियाडमा कबड्डीभन्दा अघि कुनै खेलले मेडल हात पार्न सकेको थिएन । जब नेपाली कबड्डी टिमले बंगलादेशलाई हरायो । सबै नेपालीको अनुहारमा खुसी देखियो । अन्तोगत्वा त्यही जितले कबड्डीलाई कास्य दिलाउन सफल भयो । तिनै कबड्डी टिममा महत्त्वपूर्ण भूमिका निभाएका थिए- कञ्चनपुर महेन्द्रनगरका एकै परिवारकी नन्द-भाउजू मानमती विष्ट र नीतु गुरुङले । यी दुवै खेलाडी नेपाल पुलिसका हुन् ।

सुदूरपश्चिको कञ्चनपुरमा जन्मिएकी मानमती सानैदेखि चुलबुले स्वभावकी थिइन् । खेल भनेपछि हुरुक्कै हुने उनले ११ वर्षको उमेरमा पाँच कक्षाबाटै दौड सुरु गरिन् । वीरेन्द्र सिल्ड प्रतियोगिताबाट ५ किलोमिटरमा दौड्न सुरु गरेकी मानमती जिल्ला, क्षेत्र हुँदै केन्द्रमा समेत उपाधि जित्न सफल बनिन् । पछि उनलाई गुरु नरबहादुरले छोटो दूरीमा तिमी राम्रो गर्न सक्छौ भनेर स्पिन्टर बन्न सुझाए । पछि खेलले नै २०६७ सालमा पुलिसमा जागिरको ढोका खोलिदियो ।

थुप्रै घरेलु दौडमा पदक जितेकी उनले गुहावटीमा भएको १२औं सागमा चार सय मिटर दौड्न तयारी अवस्थामा थिइन् । तर लिस्टबाट नामै हटेपछि ट्रयाकबाट फर्कनुपर्यो । सागपछि एथलेटिक्सबाट विछिप्त भएर दबन्दीमा जाने सोच बनाएकी थिइन् । तर भाउजू नीतुको प्रेरणाले विधा नै परिवर्तन गरेर मानमती कबड्डीमा लागिन् । ‘तत्काल ओलम्पिक खेल्छ भनेर मेरो नामै हटाइयो,’ मानमतीले सुनाइन् ।

कञ्चनपुरमै जन्मिएकी नीतु पनि स्कुलदेखिनै कबड्डी खेल्थिन् । पहिला दुब्लो पातलो भएकाले कबड्डी खेलाडी भनेर मानिसले पत्याउँदैनथे । तर उनको खेल रणनीतिक किसिमको भएका कारण नै उनलाई पुलिसले छान्यो । विभागमा नीतु र मानमती फरक विधाका खेलाडी रहे पनि एक-आपसमा निकै मिल्ने साथी थिए । त्यही भएर नीतु मानमतीको कोठामा आइरहन्थिन् । आउने क्रममै नीतुको भेट मानमतीका दाइसँग भयो । दुवैमा मायाप्रिति बसेपछि विवाह गरिन् अनि मानमती नीतुको नन्द बनिन् ।

‘विभागमा मानमती र म निकै मिल्ने साथी भएकाले उनको कोठामा जाँदा दाइसँग भेट भयो । मेरो धर्मकर्ममा विश्वस गर्ने स्वभाव मनपरेकाले विवाहको प्रस्ताव आयो । सुरुमा मैले मानिनँ किन भने म गुरुङ ऊचाहिँ क्षेत्री तर दुवैजनाको घरपरिवार राजी भएपछि हाम्रो विवाह भयो,’ नीतुले भनिन् ।

यसमा पनि नन्द मानमतीको ठूलो हात थियो । मानमतीले नीतुको जोडी मिलाइदिएर ठूलो गुन लगाइन् भने दौड छाडेपछि विक्षिप्त अवस्थामा पुगेकी नन्द मानमतीलाई भाउजू नीतुले नै कबड्डीमा लाग्न प्रेरणा दिइन् । उनकै सहयोगले मानमतीले कबड्डी खेलाडी बनेर सफलतासमेत हासिल गरिन् । यी दुई नन्दभाउजूले एक-आपसमा गरेको सहयोगले अहिले दुवै नेपाली राष्ट्रिय महिला कबड्डी टिमका सदस्य हुन् । नीतु डिफेन्समा खेल्छिन् भने मानमती रेडरबाट खेल्छिन् । आफ्नै परिवारका दुईजना भएपछि खेलमा पनि निकै सहयोग पुगिरहेको बताउँछन् ।

नन्दभाउजू दुवैजना एउटै परिवारको हुँदा एकले गरेको कमिकमजोरी अर्कोलाई सुटुक्क भन्ने गर्छन् । जसले गर्दा सुधार्ने मौका पनि हुन्छ । तर कहिलेकाहीँ खेलमा सामान्य नोकझोक पनि हुन्छ तर खेलपछि फेरि हाम्रो सम्बन्ध नन्दभाउजूमै रहन्छ भन्नेमा दुवै सहमत छन् ।

नेपालमा कबड्डी खेल त्यति प्रख्यात नभएकै कारण १९औं एसियाडमा राष्ट्रिय खेलकुद परिषद्ले पनि यी खेलालाई त्यति महत्त्व दिएको थिएन । यसकारण खेलाडीले पनि निकै सास्ती बेहोर्नुपरेको थियो ।

‘१९औं एसियाडअघि हाम्रो कबड्डी टोली सहभागी हुन्छ कि हुँदैन भन्ने हामी पूरै दोधारमा थियौं । कहिले मनमैंजु, कहिले लैनचौर त कहिले त्रिपुरेश्वरमा प्रशिक्षण गर्नुपर्ने समस्या थियो । कबड्डी इन्डोर खेल भए पनि आफ्नो कभर्डहल नहुँदा हामी निकै सास्ती बेहोर्नुपर्यो,’ मानमतीले सुनाइन्, ‘तर पनि हामी आश नमारी निरन्तर अभ्यास गरिरह्यौं । जब भारतमा फ्रेन्डिली म्याचमा हामी सबै जितेर फर्के त्यसपछि अलि आशा जागेको थियो । र पछि एसियाडमा पनि सहभगिताको मौका पायौँ र उपाधि पनि जित्न सफल भयौं ।

पहिलो सहभागितामै कबड्डीले एसियाडमा उपाधि दिलाउँदा यी खेलाडीलाई हेर्ने सबैको नजरमा पनि परिवर्तन भएको छ भने बधाई दिनेको पनि त्यतिकै ओइरो लागेको छ ।

‘जीवनमा योभन्दा खुसीको क्षण अहिलेसम्म अनुभव गर्न पाएको छैन । जुनबेला एसियाडमा बंगलादेशलाई हराउन सफल भयौं । किनभने त्यही जितले हामीलाई मेडल दिलाएको हा,’ नीतु सुनाउँछिन् । अहिले इष्टमित्र, आफन्त र घरपरिवारबाट पनि बधाई दिनेको ओइरो लागेको मानमतीले बताइन् । पत्रपत्रिका, अनलाइन, रेडियो टेलिभिजन सबैतिर हाम्रो नाम सुन्दा र हेर्दा निकै गौरव महसुस भएको नन्दभाउजूकै प्रतिक्रिया छ ।

मानमती २९ वर्षको उमेरमा एसियाडबाट मेडल दिलाउन सफल भइन् भने नीतु ३१ वर्षमा । कुनै पनि खेलमा लाग्दा छोटो समयमा प्रतिफल पाउन निकै मुस्किल हुन्छ । त्यसैले खेलमा लागे सन्तान बिग्रिन्छ भन्ने अभिभावकको मनोभावना परिवर्तन गर्न अहिले कबड्डी खेल र खेलाडी उदाहरण बनेका छन् ।


Image

प्रदीप लेखी

लेखी कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।