एन्फा र क्लबविरुद्ध खेलाडीहरुको धर्ना

कार्तिक २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
 एन्फा र क्लबविरुद्ध खेलाडीहरुको धर्ना

काठमाडौं । यस वर्ष पनि ए डिभिजन लिग नगर्ने तर राष्ट्रिय लिग गर्ने सहमति गरेका अखिल नेपाल फुटबल संघ एन्फा र क्लबविरुद्ध खेलाडीहरु विरोधमा उत्रिएका छन् । उनीहरुले एन्फामा धर्ना दिएर विरो गरेका हुन् ।

नेपाल फुटबल खेलाडी संघको आह्वानमा खेलाडीहरु आज बिहान ११ बजेदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रदर्शनमा उत्रिएका हुन् ।

धर्ना कार्यक्रम घोषणा भएपछि बिहानैदेखि एन्फा परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षाकर्मीले प्रदर्शनकारीलाई एन्फा मुख्यालयमा प्रवेश गर्न दिएका छैनन् ।

खेलाडीले गेट बाहिरै विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।

खेलाडीले गरेको विरोध प्रदर्शनमा जेन–जी युवा, पूर्वखेलाडी तथा प्रशिक्षकहरुले पनि ऐक्यवद्धता जनाएका छन् ।

खेलाडीहरुले आफूले जितेको पदक एन्फाको गेटमै झुन्ड्याएर आजको विरोध अन्त्य गरेका छन् ।

एन्फा र क्लबहरुको सोमबार बसेको बैठकले सहिद स्मारक ए डिभिजन लिग नगरेर राष्ट्रिय लिग गर्ने घोषणा गरेपछि खेलाडी आक्रोसित भएका हुन् । खेलाडीले राष्ट्रिय लिग अघि शहिद स्मारक ए डिभिजन लिग हुनुपर्ने माग गरेका छन् । ए डिभिजन लिग नभएको आज ८ सय ७९ दिन पुगेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.