जुम्लामा बढ्दै आँखाका बिरामी

कार्तिक २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
जुम्लामा बढ्दै आँखाका बिरामी

जुम्ला । जुम्लामा आँखाका बिरामी बढ्दै गएका छन् । चन्दननाथ आँखा अस्पताल जुम्लामा जाँच गर्न पुग्ने बिरामीको चापले यसलाई पुष्टि गर्छ । विशेषगरि भदौदेखि कात्तिकसम्म धेरै बिरामी आँखा जाँचका लागि पुग्ने गरेका छन् । घाँस दाउरा र अन्नपात भित्र्याउनुपर्ने याम भएकोले धूलो, धुवाको संक्रमणका कारण बिरामी बढ्ने गरेका हुन्।

चन्दननाथ आँखा अस्पतालको तथ्यांकअनुसार जुम्लामा आँखाका बिरामी बर्सेनि बढिरहेका छन् । मोबाइल तथा कम्प्युटरको अत्यधिक प्रयोग र वातावरण प्रदुषणका कारण आँखाका बिरामी बढेको अस्पतालले जनाएको छ । मौसम परिवर्तनसँगै आँखा पाक्ने, रातो हुने, चिलाउने र बिझाउनेलगायतका समस्या देखिने गरेको छ । आँखा पाक्ने र मोतिविन्दु हुने बिरामी पनि धेरै छन् । बिरामी कम हुँदा पहिले वर्षमा एकपटक मोतिविन्दुको शल्यक्रिया हुन्थ्यो । तर अहिले वर्षमा दुईपटक शिविर चलाउनुपर्ने अवस्था छ ।

चन्दननाथ आँखा अस्पतालमा गत वर्ष ५ हजार ७ सय ८७ जनाले आँखा जाँच गरेका थिए । तीमध्ये सबैभन्दा धेरै बिरामी चोटकपटक लागेका, मोबाइलको अधिक प्रयोग गरेर समस्या देखिएका र मासु बढ्ने समस्याका थिए । चालु आर्थिक वर्षको अहिलेसम्म १ हजार ४ सय ६१ जनाले आँखा जाँच गराएका छन् । तीमध्ये मोतिविन्दुका बिरामी धेरै छन् ।

यो अस्पतालमा वर्षमा ४ सयभन्दा धेरै मोतिविन्दुका बिरामीको शल्याक्रिया हुने गरेको छ । सिंजा, हिमा र कनकासुन्दरी गाउँपालिकामा आँखा उपचार केन्द्र भएकाले सामान्य समस्याको उपचार गाउँमै हुने भएकाले सदरमुकाम आउनेको संख्या घटेको छ । दुर्गम गाउँका बिरामीका लागि हरेक वर्ष शिविर बस्छ । वातावरण प्रदूषण, घरभित्रको धुलो धुँवा र समयमै आँखा परीक्षण तथा उपचार नगर्दा धेरैमा कुनै न कुनै प्रकारको आँखाको संक्रमण हुने गरेको पाइको छ ।

आँखा पाक्ने रोगबाट बच्न रोगीले प्रयोग गरेको औषधि, रुमाल, टेबल प्रयोग नगर्ने, दैनिक चार/पाँच पटक चिसोपानीले आँखा सफा गर्न चिकित्सकहरुले सुझाव दिएका छन । केही बिरामीले आफूखुशी औषधि प्रयोग गर्ने र झारफुक गर्ने चलन भएकोले समस्या देखिने गरेको छ । अहिले चन्दननाथ आँखा अस्पताल जुम्लामा कर्मचारीको अभाव छ । तीन जना कर्मचारीले सेवा दिइरहेका छन् । संरचनाको अभावले नियमितरूपमा अप्रेशन हुन सकिरहेको छैन । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.