एसियन कप खेल्न मंगोलिया जाँदै नेपाली फुटसल टोली

आश्विन १६, २०८० |ऋषिकान्त पौडेल
एसियन कप खेल्न मंगोलिया जाँदै नेपाली फुटसल टोली

पोखरा । सन् २०१७ मा अन्तर्राष्ट्रिय फुटसलमा डेब्यु गरेको नेपालले त्यसयता एसिया कपका दुई वटा छनोटबाहेक अन्य अन्तर्राष्ट्रिय खेल खेलेको छैन । घरेलु लिग पनि खासै भएका छैनन् । डेढ वर्षयता घरेलु फुटसल लिगसमेत नखेलेका नेपाली खेलाडी फुटसल एसियन कप छनोट खेल्न मंगोलिया जाँदै छन् । छनोटका लागि काठमाडौं र पोखरामा २-२ साताको प्रशिक्षण गरेको नेपालले यसपटक नतिजा सुधार्ने लक्ष्य राखेको छ ।

यही असोज २० देखि २२ गतेसम्म मंगोलियामा फुटसलको एसियन कप छनोटका खेल हुँदै छन् । त्यसका लागि नेपाली टोलीले बन्द प्रशिक्षण सम्पन्न गरेको छ । खुला छनोटमा उपस्थित १५२ जनाबाट प्रशिक्षक गौरव बस्नेतले १४ खेलाडीलाई तयार गरेका छन् । नियमित प्रशिक्षण नहुनु र वर्षैपिच्छे खेलाडी परिवर्तनले टिम सेट हुन नसक्नु नेपाली फुटसलका मुख्य समस्या हुन् । त्यसमाथि एन्फाले फुटसललाई प्राथमिकतामै राखेको छैन । समस्याका बाबजुद अन्तर्राष्ट्रिय मैदानमा उत्रने राष्ट्रिय टोलीको नतिजा लज्जास्पद हुने गरेको छ । अहिलेसम्म दोस्रो चरणमा पुग्न नसकेको नेपाल आउँदो छनोटबाट भने दोस्रो चरणमा पुग्ने लक्ष्यमा छ ।

फुटसल प्रशिक्षणका लागि पोखराको बहुउद्धेश्यीय कभर्डहलको विकल्प छैन । अभ्यासका लागि पूर्वाधार अभाव त छँदै छ, लिग तथा प्रतियोगिता नै नगरेर एन्फाले बेवास्ता गरेको छ । बामे सर्दै गरेको खेलका लागि कम्तिमा पूर्वाधारको मात्रै जोहो गर्ने हो भने पनि राष्ट्रिय फुटसल टोलीको खेल कौशलमा सुधार आउने विश्वास छ ।

यो पटकको एसियन छनोटका लागि नेपालले मंगोलिया, भियतनाम र दक्षिण कोरियासँग पहिलो चरणमा खेल्नेछ । टोलीमा अनुभवको कमी भए पनि पहिलो चरण खेल्ने देशहरुसँग बलियो चुनौती पेस गर्दै जित निकाल्ने राष्ट्रिय फुटसल टिमका कप्तान मणिकुमार लामाको विश्वास छ ।

नेपाली राष्ट्रिय फुटसल टोलीले एसियाली प्रतियोगितासम्मको यात्रा तय गरे पनि यो खेलले व्यावसायिकता पाउन सकेको छैन । फुटसललाई स्थापित गराउने हो भने राष्ट्रिय स्तरमा प्रतियोगिता बढाउँदै नयाँ खेलाडी उत्पादन र पूर्वाधार विकासमा ध्यान दिनुपर्ने देखिन्छ । 


Image

ऋषिकान्त पौडेल

पौडेल कान्तिपुर टीभीका कास्की संवाददाता हुन् ।