फाइल तस्बिर
काठमाडौं । १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा अहिले नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गरिरहेको छ ।
चीनको हाङचोउस्थित झिजियाङ क्रिकेट मैदानमा टस जितेर नेपालले पहिला ब्याटिङ गरिरहेको छ ।
माल्दिभ्समाथि नेपाल सहज जित हात पार्दै क्वाटरफाइनलमा स्थान पक्का गर्ने योजनामा छ । विश्व कीर्तिमानहरुले भरिएको उद्घाटन खेलमा मंगोलियाविरुद्ध ३ सय १४ रन जोड्दै २ सय ७३ रनको जित हात पारेको नेपाल यसै लयलाई कायम गर्ने योजनाका साथ मैदान उत्रिएको छ । माल्दिभ्सले पहिलो खेलमा मंगोलियालाई ९ विकेटले पराजित गरेको थियो ।
माल्दिभ्सको पहिलो रोजाइको टोलीले आजै आईसीसी टी–२० विश्वकप एसिया रिजनल क्वालिफायर ‘ए’ मा घरेलु टोली कतारसँग खेल्दैछ । क्वालिफायरलाई ध्यानमा राख्दै उसले एसियाडमा दोस्रो रोजाइको टोली पठाएको छ । त्यसैले नेपालसँग थप विश्व कीर्तिमान बनाउने अवसर छ ।
टी-२० आई विश्व वरीयतामा नेपाल १६ औँ र माल्दिभ्स ७८ औँ स्थानमा छ । माल्दिभ्स र नेपालबीच हालसम्म दुई टी-२० आई खेल भएको छ । सन् २०१९ को १३ औँ एसियाली खेलकुदमा टियु क्रिकेट मैदानमा नेपालसँग माल्दिभ्स पहिलो खेलमा ५ विकेट र दोस्रो खेलमा ८४ रनले पराजित भएको थियो ।
क्वाटरफाइनलमा प्रवेश गर्ने टोलीले अघिल्लो चरणमा भारत, पकिस्तान, बंगलादेश, श्रीलंका वा अफगानिस्तानमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ । क्वाटरफाइनल खेलहरुको तालिका तय गर्न ‘ड्र’को आयोजना गरिनेछ ।
एसियाडमै आज नेपालले आर्चरी, स्क्वास र एथ्लेटिक्समा प्रतिस्पर्धा गर्दैछ ।