काठमाडौं । एसियाली खेलकुदको १९औं संस्करणमा राष्ट्रिय महिला कबड्डी टिमले डेब्यु गर्दै छ ।
एसियाडकै लागि भारतको हरियाणामा एक महिनाको विशेष प्रशिक्षण गरेका महिला टिमका खेलाडी पहिलो सहभागितालाई अविस्मरणीय बनाउन चाहन्छन् । तर समस्या के भने टिमसँग अभ्यासका लागि आवश्यक मैदानसमेत छैन । खेलाडीहरूसँग अभ्यासका लागि चाहिने म्याट त छ तर, ओछ्याउने कहाँ ? आफ्नो कोर्ट नभएकैले कबड्डी खेलाडीको अधिकांश समय दशरथ रंगशालाको ट्र्याकमा बित्छ ।
चीनको हाङझाउमा हुने १९औं एसियाली खेलकुदमा आफ्नो चुनौती पेस गर्न महिला कबड्डी टोली अन्तिम तयारीमा व्यस्त छ । मुख्य प्रशिक्षक पार्वती राई र प्रशिक्षक विष्णु भट्टले ७ जना प्रमुख र पाँचजना रिजर्भ खेलाडीलाई प्रशिक्षण दिइरहेका छन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा हालसम्म दक्षिण एसियाली खेलकुदमा सीमित नेपाली महिला कबड्डीको प्रदर्शन निराशाजनक भने छैन ।
११औ र १२औं सागमा कास्य तथा घरेलु मैदानमा भएको १३औं सागमा कबड्डीले नेपाललाई रजत पदक दिलाएको थियो । घरेलु प्रतियोगिता र पूर्वाधारको अभावका बीच पनि एसियाडमा पदक जित्ने विश्वास खेलाडीको छ ।
‘इन्डियाको बसाइँ राम्रो भयो । फ्रेन्ड्सिप म्चाचहरु खेल्यौं,’ नेपाली महिला कबड्डी टिमकी कप्तान मेनुकाकुमारी राजवंशीले भनिन्, ‘नयाँ टेक्निकहरु सिक्न पायौं । हामीले गरेको मिहिनेतअनुसार मेडल ल्यउँछौं भन्ने आशा छ ।’
चार वर्षयता नेपालले कबड्डीका कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन । सागमा भारतविरुद्ध फाइनल खेलेयता नेपालले प्रशिक्षणका दौरान भारतमा सातावटा अभ्यास खेल खेल्यो । यही अनुभवका आधारमा टिम हाङझाउ पुगेको छ ।
नेपालकै पुरानो खेल भए पनि पूर्वाधारका हिसाबले कबड्डी निकै कमजोर छ । खेलाडीले कोर्टमा पर्याप्त अभ्यासको अवसर पाएका छैनन् । आफ्नै कोर्ट नहुँदा कहिले उसु तथा कहिले टेनिसको कोर्टमा धाउन खेलाडी बाध्य छन् ।
गत वर्ष पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदयता कबड्डीका कुनै प्रतियोगिता आयोजना भएका छैनन् । राष्ट्रिय खेलकुद र राष्ट्रपति रनिङ सिल्डले कबड्डीको घरेलु संरचना धान्दै आएको छ ।