एएफसी च्यम्पियन्स लिगमा अल हिलाल-नाभ्भाहोरबीच प्रतिस्पर्धा हुने

आश्विन १, २०८० |कान्तिपुर टीभी संवाददाता
एएफसी च्यम्पियन्स लिगमा अल हिलाल-नाभ्भाहोरबीच प्रतिस्पर्धा हुने

काठमाडौं । एएफसी च्याम्पियन्स लिग समूह चरणको आफ्नो पहिलो खेलमा अल हिलालले आज नाभ्भाहोरसँग प्रतिस्पर्धा गर्दै छ । यो खेलमा हिलालका स्टार फरवार्ड नेइमारले खेल्ने सम्भावना भने न्यून छ ।

साउदी अरेबियाको अल हिलाल र उज्वेकिस्तानको नाभ्भाहोरबीचको खेल रियादस्थित किङ फाहद इन्टरनेसनल स्टेडियममा नेपाली समयअनुसार राति पौने १२ बजे सुरु हुनेछ । चोटका कारण ब्राजिलियन स्टार नेइमारले खेल्नेमा भने शंका छ । गत शुक्रबार मात्र नेइमारले साउदी प्रो लिगमा डेब्यु गरेका थिए ।

३१ वर्षीय नेइमार गत महिना फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट अल हिलालमा आबद्ध भएका हुन् । एंकल इन्जुरीका कारण उनले गत शुक्रबारभन्दा अघि हल हिलालबाट खेलेका थिएनन् । एसियन च्याम्पियन्स लिगमा अल हिलाल समूह डीमा छ । होम एन्ड अवेका आधारमा हुने लिगमा मुम्बई सिटी एफसी पनि यसै समूहमा छ ।

एएफसी च्याम्पियन्स लिगको समूह चरणका खेल आजबाट सुरु हुन लागेका हुन् । ४० टिमलाई दश समूहमा विभाजन गरिएको छ । विश्व फुटबलका सुपर स्टार क्रिस्टियानो रोनाल्डो, नेइमार, करिम बेन्जिमालगायतले एसियाको प्रतिष्ठित क्लब फुटबल प्रतियोगितामा डेब्यु गर्नेछन् ।

रोनाल्डो गत जनवरीमा साउदीकै अल नासारमा आएका थिए । त्यसयता नेइमार, बेन्जिमा, साडियो माने, फाबिन्हो, एंगोलो कान्टेलगायत अन्य खेलाडीले पनि साउदीलाई आफ्नो गन्तव्य बनाएका हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.