सहिद स्मारक ए डिभिजन लिग : मनाङलाई १-० ले हराउँदै एनआरटी शीर्ष ६ मा उक्लियो

जेष्ठ २४, २०८० |कान्तिपुर टीभी संवाददाता
सहिद स्मारक ए डिभिजन लिग : मनाङलाई १-० ले हराउँदै एनआरटी शीर्ष ६ मा उक्लियो

काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै न्युरोड टिम (एनआरटी) सहिद स्मारक ए डिभिजन लिगको शीर्ष ६ मा उक्लिएको छ । २५औं चरणमा एनआरटीले मनाङलाई एक-शून्यले पराजित गरेको हो ।

च्यासल मैदान ललितपुरमा एनआरटीले मनाङमाथि सुरुवातमा दबाब बनाएको थियो । १३औं मिनेटमा आशिष राईको प्रहार बारमा लाग्दै फर्किँदा एनआरटीले अग्रताको मौका गुमायो । तर १७औं मिनेटमा दिपेश आले मगरले गोल गर्दै एनआरटीलाई अग्रता दिलाए ।

त्यसपछि मनाङले प्राप्त गरेका केही अवसर सदुपयोग नगर्दा दिपेशको गोल निर्णायक भयो । मनाङ पछिल्ला ११ खेलपछि हारेको हो । १४औं चरणदेखि क्लबले ८ बराबरी र ३ जितको नतिजा निकालेको थियो । पराजयसँगै ३२ अंक भएको मनाङ तालिकाको सातौं स्थानमा छ । एनआरटीको २५ खेलमा ३३ अंक छ ।

लिगको अन्तिम चरणमा मनाङले मछिन्द्र र एनआरटीले संकटाको सामना गर्नेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement