सहिद स्मारक ए डिभिजन लिग : मछिन्द्र उपविजेतामै सीमित

जेष्ठ २४, २०८० |कान्तिपुर टीभी संवाददाता
सहिद स्मारक ए डिभिजन लिग : मछिन्द्र उपविजेतामै सीमित

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा मछिन्द्र फुटबल क्लब उपविजेता बनेको छ । मछिन्द्रले बुधबार हिमालयन शेर्पालाई ३-१ गोलले हराएको हो ।

दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमा मछिन्द्र १-० गोलले अग्रता बनाएको थियो । खेलको २६औं मिनेटमा पुजन उपरकोटीले मिलाएको पासमा विमल घर्तीमगरले उत्कृष्ट हेडरमार्फत मछिन्द्रलाई अग्रता दिलाए । जारी सिजन उनको यो लिगमा पाँचौं गोल हो ।

६८औं मिनेटमा मछिन्द्रले अग्रताा दोब्बर बनायो । युटा सुजुकीले बायाँबाट दिएको पासमा ओलावाले आफिजले हेडरमार्फत गोल गरे । ७७औं मिनेटमा मछिन्द्रले पेनाल्टीको मौका पायो । अबुयामी फाकुन्लेले बक्सभित्र मछिन्द्रका आफिजलाई लडाएपछि पाएको पेनाल्टीमा आफिज आफैंले गोल गरेका हुन् । उच्च फर्ममा रहेका उनको यो जारी सिजनको २१औं गोल हो ।

खेलको अन्त्यतिर दुवै टिमका दश खेलाडीमा झरे । गोलरक्षक विशाल श्रेष्ठ फाकुन्लेलाई लडाएपछि दोहोरो पहेंलो कार्ड पाएर मैदान बाहिरिए । सोही बेला आक्रोशित निशे लिम्बूले आन्द्रेश नियालाई हात हालेपछि सीधैं रातो कार्ड पाए ।

त्यसपछि विजय भुजेलको स्थानमा मैदान प्रवेश गरेका नवीन सिलवालले मछिन्द्रको गोल पोस्ट सम्हालेका थिए । निर्धारित समयको अन्तिम मिनेटमा मुटाम्बा पिस्टोनेले शेर्पाका लागि सान्त्वना गोल फर्काए ।

यो जितपछि मछिन्द्रको ४२ अंक भएको छ । लगातार तीन उपाधि जित्ने लक्ष्यमा रहेको मछिन्द्र यसपटक दोस्रो स्थानमा रहँदै लिग टुंग्याउने पक्का भएको छ । १९औं स्थाननमा झरेको शेर्पाको ३१ अंक छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.