करिम बेन्जेमा साउदी क्लब अल-इत्तिहादमा, पूर्व सहकर्मी रोनाल्डोको प्रतिद्वन्द्वी बन्ने

जेष्ठ २४, २०८० |कान्तिपुर टीभी संवाददाता
करिम बेन्जेमा साउदी क्लब अल-इत्तिहादमा, पूर्व सहकर्मी रोनाल्डोको प्रतिद्वन्द्वी बन्ने

काठमाडौं । रियाल मड्रिडका पूर्व टिम मेट करिम बेन्जेमा र क्रिस्टियानो रोनाल्डो एकअर्काको प्रतिद्वन्द्वी बन्ने भएका छन् ।

फ्रान्सका पूर्व फरवार्ड बेन्जेमा साउदी अरेबियन क्लब अल इत्तिहादमा आबद्ध भएपछि रोनाल्डोसँग भेट हुने भएको हो । उनले इत्तिहादसँग तीन वर्षको सम्झौता गरेका छन् ।

अल-इत्तिहाद उल्भ्स र टोटेनहमका मालिक नुनो इस्पिरितोको स्वामित्वमा छ । बेन्जेमालाई कति रकममा क्लबले भित्र्याएको हो भन्नेबारे जानकारी दिइएको छैन । तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनी एक सय मिलियन युरोभन्दा बढीमा आबद्ध भएका हुन् ।

केही दिन अघि मात्र साउदीको चार शीर्ष क्लब मध्येको एक इत्तिहादको स्वामित्व देशको पब्लिक इन्भेस्टमेन्ट फन्डले दिएको घोषणा गरिएको थियो । यहि फन्डले इंग्लिस प्रिमियर लिग क्लब न्युक्यासललाई पनि नियन्त्रण गर्छ ।

बेन्जेमाले एक वर्ष बाँकी रहँदै रियालसँगको सहकार्य टुंग्याएका थिए । रियालमा १४ वर्ष रहँदा उनले पाँच च्याम्पियन्स लिग र चार ला लिगासहित कूल ३५ उपाधि जितेका थिए । बेन्जेमाले नयाँ क्लबबाट आगामी डिसेम्बरमा क्लब विश्वकप खेल्नेछन् ।

पछिल्लो समय स्टार खेलाडीको रोजाईमा साउदी क्लब बन्ने गरेको छ । अल नासरमा आबद्ध रोनाल्डोले आगामी सिजन पनि साउदी लिगमै बिताउने बताइसकेका छन् । उनले ठूला नाम गरेका खेलाडीको आमगन भए साउदी प्रो-लिग विश्वको शीर्ष पाँचमा पर्न सक्ने पनि बताएका थिए । अर्जेन्टिनी लियोनल मेस्सी पनि साउदीकै अर्को क्लब अल हिलालमा आबद्ध हुने चर्चा भइरहेको छ।  


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.