एसियन कप छनोट : नेपाली महिला टोलीले आज म्यान्मारसँग खेल्दै

जेष्ठ २३, २०८० |कान्तिपुर टीभी संवाददाता
एसियन कप छनोट : नेपाली महिला टोलीले आज म्यान्मारसँग खेल्दै

काठमाडौं । एएफसी यू–२० महिला एसियन कप फुटबल छनोटको दोस्रो चरण खेल्न म्यान्मार पुगेको नेपाली टोलीले आज साँझ घरेलु टोली म्यान्मारसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र म्यान्मारबीचको खेल नेपाली समयअनुसार साँझ ५ : ४५ बजे सुरु हुनेछ । नेपाल छनोटको समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा चीन, म्यान्मार र चाइनिज ताइपेइ छन् ।

नेपालले प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–० गोलअन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो ।

नेपाली टोलीका प्रशिक्षक यमप्रसाद गुरुङले पहिलो चरणको सफलताले टिमको मनोबल बढाएको जनाउँदै हरेक खेल जित्नकै लागि खेल्ने जनाए । उनले भने, “फिफा वरियतामा हामीभन्दा माथि भएका टिम छन् तर हामी उच्च मनोबलका साथ मैदान उत्रने छौँ ।”

नेपाली टोलीको गोलरक्षकमा कविता विक, लीला जोशी र सावित्री किसान छन् भने डिफेन्डरमा सविना चौधरी, तुलसा बोहरा, सुनिता भुलान, सिमरन राई, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, सजनी थोकर र कुमारी तामाङ छ्न ।

यसैगरी मिडफिल्डरमा सरस्वती हमाल, मनमाया दमाईं, सुनकला राई, दीपा शाही, हिमा रावत, सुस्मा जीटी, सारा बज्राचार्य र अञ्जली मचामासी छन् । फरवार्डमा गरिमा राई, अमिषा कार्की, ममता पुन र सन्दिपा भोलान छन् ।

यसैगरी नेपाले यही जेठ २५ गते चीनसँग खेल्नेछ भने यही जेठ २७ गते चाइनिज ताइपेइसँग खेल्नेछ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.