ए डिभिजन लिग क्लबलाई तयारी खर्च दिने एन्फाको प्रतिबद्धता

जेष्ठ २२, २०८० |कान्तिपुर टीभी संवाददाता
ए डिभिजन लिग क्लबलाई तयारी खर्च दिने एन्फाको प्रतिबद्धता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले तयारी खर्च र म्याचमनीसहितको रकम निकासा गर्ने प्रतिबद्धता जनाएपछि शीर्ष डिभिजन क्लब सहिद स्मारक ए डिभिजन लिग खेल्न सहमत भएका छन् । एन्फा र शीर्ष डिभिजन क्लबबीच आज आकस्मिक बैठक बसेको थियो ।

सहमतिअनुसार एन्फाले आगामी शुक्रबारसम्म म्याच मनी र प्लेयर अफ दि म्याच विजेता खेलाडीले प्राप्त गर्ने रकम निकासा गर्नेछ । यस्तै लिग सकिएको ४५ दिनभित्र तयारी खर्चको सबै रकम निकाशा गर्ने सहमति क्लब र एन्फाबीच भएको छ।

विवादमा सहमति जुटेपछि क्लबले लिगका बाँकी दुई चरण खेल्ने भएका छन् । यसअघि क्लबहरुले लिगमा सहभागी नहुनेसम्मको चेतावनी दिएका थिए । छलफलमा सहभागी हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पाले पनि एन्फाले ४५ दिनभित्र तयारी खर्च दिने सहमति भएको बताए ।

एन्फाले तयारी खर्चवापत दिने भनेको ३२ लाख ५० हजारबाट पहिलो किस्तामा १४ लाख ५० हजार क्लबलाई दिएको थियो । लिग सकिन लाग्दा पनि बाँकी किस्ता नपाएपछि एक साताअघि क्लबहरुले पत्रकार सम्मेलन गरेर आफूहरुलाई अन्याय भएको बताएका थिए । यस्तै खेलाडीले १५ प्रतिशत कर तिर्नुपर्ने अडानबाट एन्फापछि हटेको छ । सरकारको नियमअनुसारनै खेलाडीले कर तिरे पुग्ने सहमति भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.