महिला च्याम्पियन्स लिग : उपाधिका लागि बार्सिलोना र उल्भ्सबर्ग आमनेसामने

जेष्ठ २०, २०८०
महिला च्याम्पियन्स लिग : उपाधिका लागि बार्सिलोना र उल्भ्सबर्ग आमनेसामने

आइन्ड होभन । महिला च्याम्पियन्स लिगको उपाधिका लागि आज बार्सिलोना र उल्भ्सबर्ग आमनेसामने हुँदै छन् ।

नेदरल्यान्डसको आइन्ड होभनमा हुने खेल नेपाली समयअनुसार साँझ पौने ८ बजे सुरु हुनेछ । बार्सिलोना लगातार पछिल्लो तीन सिजनमा दोस्रोपटक उपाधि जित्ने लक्ष्यमा छ । लगातार तेस्रोपटक फाइनल पुगेको स्पेनिस जायन्टस पछिल्लोपटक सन् २०२१-२२ को सिजनमा चेल्सीलाई पराजित गर्दै च्याम्पियन बनेको थियो ।

अघिल्लो संस्करण भने फ्रेन्च क्लब लियोनसँग तीन-एक गोलले पराजित भएपछि उपविजेतामा सीमित भयो । २०१८ देखि २०२० सम्म लियोनले उपाधि जित्दाकी डिफेन्डर लुसी ब्रोन्ज हाल बार्सामा छिन् । २०१९ मा उनी सम्मिलत लियोनले बार्सिलोनालाई हराएर उपाधि जितेको थियो ।

प्रि-म्याच कन्फरेन्समा इंग्ल्यान्डकी लुसीले अहिलेको बार्सा त्यसबेलाको भन्दा फरक रहेको भन्दै च्याम्पियन बन्नेमा विश्वस्त रहेको प्रतिक्रिया दिइन् । स्ट्राइकर एलेक्सिया पुटेयास चोटमुक्त हुँदै टिममा फर्किएपछि बार्साको मनोबल उच्च बनेको हो ।

उनले गत वर्ष लियोनसँग फाइनलमा पराजित हुनु पीडादायी भएको उल्लेख गर्दै यसपटक ट्रफी बार्सा लैजानेमा आशावादी रहेको जनाइन् । जर्मन क्लब उल्भ्सबर्ग १० वर्षदेखिको उपाधि खडेरी तोड्न चाहन्छ । यसअघि उल्भ्सबर्ग २०१४ मा विजेता बनेको थियो । दुवै टिमले समान दुई-दुईपटक च्याम्पियन्स लिग उपाधि जितेका छन् ।