फ्रेन्च ओपन टेनिस : कार्लोस अल्काराज र नोभाक जोकोभिच चौथो चरणमा प्रवेश

जेष्ठ २०, २०८०
फ्रेन्च ओपन टेनिस : कार्लोस अल्काराज र नोभाक जोकोभिच चौथो चरणमा प्रवेश

पेरिस । विश्व नम्बर एक कार्लोस अल्काराज फ्रेन्च ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेका छन् । स्पेनिस कार्लोसले क्यानेडियन डेनिस सापोभालोभलाई सोझो सेटमा पराजित गरेका हुन् ।

२० वर्षीय अल्काराजले पहिलो सेट सहजै ६-१ ले जितेका थिए । अल्काराजको तीव्र गतिसँग संघर्ष गरेका डेनिस पाँच-शून्य अंकले पछि परेका थिए । ६-० ले पराजित हुनबाट जोगिएपछि डेनिसले खुसी मनाएका थिए ।

अल्काराजले पहिलो सेट जित्न मात्र ३५ मिनेट लगाएका थिए । दोस्रो सेटमा भने डेनिसले सुधारिएको प्रदर्शन गर्दै चार-एक अंकको अग्रता बनाएका थिए । तर उपाधि दाबेदार अल्काराजले पुनरागमनका लागि समय लगाएनन् र ६-४ ले सेट आफ्नो पक्षमा पारे । तेस्रो सेट ६-२ ले जित्दै उनले राउन्ड अफ सिक्सटिनमा स्थान सुरक्षित गरे ।

अल्काराज सन् १९७६ यता फ्रेन्च ओपनमा सहभागी शीर्ष वरीयता प्राप्त सबैभन्दा कम उमेरका खेलाडी हुन् ।

यस्तै सर्बियाका नोभाक जोकोभिचले पनि तेस्रो चरणमा जित हात पारेका छन् । ३६ वर्षीय जोकोभिचले स्पेनका अलेहान्द्रो डाभिडोभिच फोकिनालाई सोझो सेटमा पराजित गरेका हुन् ।

प्रतिस्पर्धात्मक बनेका सुरुवाती दुई सेट टाइब्रेकरमा पुगेका थिए । विश्व नम्बर तीन जोकोभिचले ७-६, ७-६ ले डाभिडोभिचलाई हराए । तेस्रो सेटअघि उनले तीघ्रामा समस्या आएपछि मेडिकल टाइम आउट लिएका थिए । यसका बाबजुत उनी ६-२ ले सेट जित्दै प्रि-क्वाटरफाइनल प्रवेश गरेका छन् । रुसका आन्द्रे रुवलेभ र पोल्यान्डका हुबर्ट हुर्काज भने प्रतियोगिताबाट बाहिरिए ।