नवौं इन्डो नेपाल कराते : पहिलो दिन नेपाललाई ६ स्वर्ण

जेष्ठ १९, २०८० |कान्तिपुर टीभी संवाददाता
नवौं इन्डो नेपाल कराते : पहिलो दिन नेपाललाई ६ स्वर्ण

काठमाडौं । नवौं इन्डो नेपाल कराते प्रतियोगिताको पहिलो दिन ६ स्वर्णको छिनोफानो हुँदा सबै स्वर्ण नेपाली खेलाडीले जितेका छन् ।

नेसनल युनाइटेड स्कुलको आयोजना तथा नेपाल गोजु-काई कराते डो संघको प्राविधिक सहयोगमा सञ्चालित प्रतियोगिताको पहिलो दिन पुरुष २० केजीमुनि तौल समूहमा शिवपुरी डोजोका अरुण तामाङले स्वर्ण जिते । फाइनलमा उनले आईपीएसका सुशन तामाङलाई हराए । २५ केजीमुनि तौल समूहमा शिवपुरीकै ड्यानिएल तामाङले स्वर्ण जित्ने क्रममा आईपीएसका सुशन चौलागाईंलाइ पराजित गरे ।

३० केजी तौल समूहमा दी चान्दबाग स्कुलका आरोग्य पौडेलले स्वर्ण पदक जिते । उनले फाइनलमा लुम्बिनी एकेडेमीका सौरभ चौधरीलाई पराजित गरे । पुरुषकै ४० केजीमुनि तौल समूहमा मित्रपार्क डोजोका श्रीयश शाही पहिलो हुँदा फाइनलमा आफ्नै डोजोका प्रयास शाहीलाई पराजित गरे । पुरुष कातातर्फ मित्रपार्क डोजोका खेलाडीको वर्चश्व रह्यो । सक्षम लामाले स्वर्ण जित्दा निश्चल राइले रजत र श्रीयश शाहीले कास्य जिते । अर्को कास्य विजेता सीएमएसका पुजन तामाङ हुन् ।

महिला कातातर्फ आयोजक नेसनल युनाइटेड स्कुलकी अपेक्षा मगरले स्वर्ण पदक जित्न सफल भइन् । चान्दबाग स्कुलकी अंशु गुरुङले रजत तथा आईपीएसकी सलिना लामा र आयोजक नेसनलकी दिनिका राईले कास्य जिते । महिला कुमुतेतर्फ ४० केजीमुनि लुम्बिनी एकेडेमीकी प्रेशा राईले स्वर्ण जितिन् । उनले फाइनलमा नेसनल युनाइटेडकी कुन्साङ राईलाई हराइन् ।

लुम्बिनीका पुजना राई र जिनियस वर्ल्ड स्कुलकी निनिशा हमालले कास्य जिते । हात्तीगौंडास्थित नेसनल युनाइटेड स्कुलको प्रांगणमा आयोजित प्रतियोगितामा नेपाल र भारतका विभिन्न डोजो तथा विद्यालयका गरी २५० भन्दा बढी खेलाडी सहभागी छन् ।

प्रतियोगितामा काता र कुमुते गरी २४ स्वर्ण, २४ रजत तथा ४८ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको उद्‌घाटन समारोहमा २०२३ मे १४ मा बेलायतको ग्लोस्टर सहरमा सम्पन्न भएको उमा युरोपियन च्याम्पियनसिपमा ६० केजी सेमिकन्ट्याक्ट किक बक्सिङमा कास्य पदक विजेता विमल थपलिया, ८५ केजी सेमिकन्ट्याक्ट किक बक्सिङमा कास्य पदक विजेता कुसुम ढकाल तथा टिम म्यानेजर आलोक बराललाई सम्मान गरिएको थियो । प्रतियोगितामा बाँकी स्पर्धाको खेलहरु शनिबार सम्पन्न हुनेछ ।

Enter Kantipur TV HD
Advertisement