युरोपा लिगको उपाधिका लागि सेभिया र रोमा भिड्दै

जेष्ठ १७, २०८० |कान्तिपुर टीभी संवाददाता
युरोपा लिगको उपाधिका लागि सेभिया र रोमा भिड्दै

काठमाडौं । युरोपको दोस्रो ठूलो क्लब प्रतियोगिता युरोपा लिगको उपाधिका लागि आज स्पेनको सेभिया र इटालियन रोमाबीच प्रतिस्पर्धा हुँदैछ ।

रोमाका प्रशिक्ष जोजे मोरिन्होले प्रि म्याच कन्फरेन्समा सेभिया उपाधिको फेभरेट भएको प्रतिक्रिया दिएका छन् । सेभिया कीर्तिमानी ६ पटकको युरोपा लिग च्याम्पियन टोली हो । मोरिन्होले यसअघि सन् २००३ मा पोर्टो र २०१७ मा म्यानचेस्टर युनाइटेडका लागि उपाधि जितेका थिए ।

यदि आज सेभियालाई पराजित गरे मोरिन्हो तीन फरक क्लबबाट युरोपा जित्ने पहिलो प्रशिक्षक बन्नेछन् । दुवै टिमका लागि अर्को सिजनको च्याम्पियन्स लिगका लागि छनोट हुने यो सुनौलो अवसर हो ।

घरेलु लिगमा रोमा र सेभिया शीर्ष चारमा रहन असफल भए । सेभिया ला लिगाको एघारौँ स्थानमा रहँदा रोमा सिरी ए को छैटौँ स्थानमा छ ।

रोमाका फरवार्ड पाउलो डिबालाले आजको फाइनल गुमाउने सम्भावना उच्च छ । उनी अझै पनि पुर्ण रुपमा फिट भइनसकेको बताइएको छ ।

यता सेभिया सातौँ उपाधि जित्ने लक्ष्यमा छ । सेभियाले अहिलेसम्म युरोपा लिगको फाइनलमा हार बेहोरेको छैन ।

यस्तै मोरिन्होले युरोपमा फाइनल पुगेका कुनै पनि खेल हारेका छैनन् । मोरिन्होले दुई च्याम्पियन्स लिग, दुई युरोपा र एक युरोपा कन्फरेन्स लिग उपाधि आफ्नो नाममा लेखाएका छन् । हंगेरीको बुडापेस्टस्थित पुस्कास एरिनामा हुने खेल नेपाली समयअनुसार राति पौने एक बजे सुरु हुनेछ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.