ए डिभिजनका १० क्लबको आरोप- एन्फाले बेवास्ता गर्‍यो

जेष्ठ १२, २०८० |कान्तिपुर टीभी संवाददाता
ए डिभिजनका १० क्लबको आरोप- एन्फाले बेवास्ता गर्‍यो

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग खेलिरहेका क्लबहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) आर्थिक रुपमा असफल भएको भन्दै क्लबको आर्थिक समस्यालाई बेवास्ता गरेको आरोप लगाएका छन् ।

विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, एपीएफ क्लब र जावलाखेल क्लबबाहेक १० क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी एन्फाले जारी लिग खेलिरहेका क्लबहरुले आर्थिक रुपमा सहयोग गरेको भन्दै क्लबको समस्यामा बेवास्ता गरेको बताएका हुन् । लिगको २१ खेल सकिँदासमेत एन्फाले क्लबको तयारी खर्च, म्याच फी, म्यान अफ दी म्याचलगायत रकम नदिएको आरोप लगाए ।

पत्रकार सम्मेलनमा उपस्थित भएका क्लबमध्ये हिमालयन शेर्पाका अध्यक्ष तथा पूर्वएन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले अहिलेको एन्फा व्यवस्थापनका हिसाबले पूर्ण असफल भएको विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) को अनुदानले मात्र फुटबल चलाउन खोजेको आरोप लगाए । एन्फाले एएफसीबाट फुटबल विकासका लागि आएको रकम कतारमा विश्वकप हेर्न जाँदा प्रयोग गरेको र अझैसम्म पनि त्यो पैसा उठेको छैन तर व्यवस्थापकीय जिम्मेवारमा निकै अस्पष्ट भएको शेर्पाको दाबी छ ।

एन्फाको अहिलेको प्राथमिकतामा अस्ट्रेलिया र न्युजिल्यान्डमा आयोजना हुन लागेको फिफा महिला विश्वकपको टिकट खरिद प्राथमिकतामा परेको तर लिग खेलिरहेका ए डिभिजन लिगको पीडामा एन्फा उदासीन रहेको पनि शेर्पाले जनाए । उचित योजना र सही तरिकाले काम गरियो भने फुटबलमा लगानी पाउन गाह्रो नहुने शेर्पाको भनाइ थियो । यस्तै पत्रकार सम्मेलनमा संकटा क्लबका अध्यक्ष तथा पूर्वएन्फा महासचिव इन्द्रमान तुलाधरले क्लबले तयारी खर्चको दोस्रो किस्तासमेत नपाएकाले खेलाडी मारमा परेको दाबी गरे ।

लिगमा सहभागी क्लबलाई लिग सुरु हुनुअघि १५ लाख, १३औं चरण सकिएपछि १० लाख र लिग सकिएपछि साढे सात लाख रुपैयाँ दिने सम्झौता भएको तर अहिलेसम्म एक किस्ता मात्र पाएको र बाँकी रकम दिनलाई ढिलासुस्ती गरेको उनको भनाइ छ । यस्तै एन्फाले मनोमानी तरिकाले खेल तालिकामा बनाएको पनि तुलाधरले जनाए ।

यसैगरी एनआरटीका महासचिव नरेन्द्र श्रेष्ठले क्लबहरुलाई बेवास्ता गरेर एन्फा नेतृत्वले फुटबल खेल मास्न लागेको धारणा राखे । क्लबका पदाधिकारीले खेलाडीलाई एन्फाले ट्याक्सको मारमा पारेको दाबी गरे । आय करको एउटा सिलिङ हुने गरेको र फिफा तथा एएफसीले पनि देशको कानुनअनुसार खेलाडीलाई कर लगाऊ भनेको अवस्थामा एन्फाले खेलाडीलाई कमाइको १५ प्रतिशत भनेर निमय बनाएको जानकारी दिए । एन्फाले फुटबल विकासको हितमा भन्दा पदाधिकारीको सेवा-सुविधामा ध्यान दिएको पनि क्लबहरुले दाबी गरेका छन् ।

लिगमा सहभागी मच्छिन्द्र फुटबल क्लबका सचिव किरण महर्जन, एफसी खुमलटारका उपाध्यक्ष हरिबोल राउत, मनाङ मर्स्याङ्दीका अध्यक्ष विजय घले, फ्रेन्डसका क्लबका अध्यक्ष विश्वासविक्रम शाह, सातदोबाटो युथ क्लबका अध्यक्ष कपिल रानामगर, चर्च ब्वाइज युनाइटेडका अध्यक्ष टंकलाल राई र थ्रीस्टार क्लबका देवेन्द्रलाल श्रेष्ठलगायतको उपस्थिति थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.