लगातार दोस्रो सिजन इन्टरलाई कोपा इटालियाको उपाधि

जेष्ठ ११, २०८० |कान्तिपुर टीभी संवाददाता
लगातार दोस्रो सिजन इन्टरलाई कोपा इटालियाको उपाधि

रोम । इन्टर मिलानले लगातार दोस्रो सिजन कोपा इटालियाको उपाधि जितेको छ । इन्टरले फाइनलमा फियोरेन्टिनामाथि २ - १ गोलको जित हात पारेको हो ।

रोमस्थित स्टाडियो ओलम्पिकोमा भएको खेलमा सुरुवाती अग्रता लिएपनि फियोरेन्टिनाले जोगाउन सकेन । तेस्रो मिनेटमै निकोलस गोन्जालेसले गोल गरेका थिए ।

च्याम्पियन्स लिगको फाइनालिस्ट इन्टर पहिलो हाफमै खेलमा फर्कियो । २९ औँ मिनेटमा लौतारो मार्टिनेजले गोल गर्दै खेल १ - १ को बराबरीमा ल्याएका थिए । उनैले ३७ औँ मिनेटमा गोल गरेपछि इन्टर २ - १ ले अघि रह्यो । मार्टिनेजको पछिल्ला चार खेलमा यो चौथो गोल हो ।

दोस्रो हाफमा इन्टरले आफ्नो अग्रता कायमै राख्दा फियोरेन्टिनाले गोल फर्काउन सकेन । दुवै टोली युरोपियन प्रतिस्पर्धाको फाइनल खेलको तयारीमा छन् । इन्टरले च्याम्पियन्स लिगको उपाधिका लागि १० जुनमा प्रतिस्पर्धा गर्दैछ ।

यस्तै फियोरेन्टिनाले युरोपा लिगको फाइनलमा ७ जुनमा वेस्टह्यामको सामना गर्नेछ । मिलानले सिरी ए अन्तर्गत नापोलीसंग ३ - १ गोलको हार बेहोरेको टिमबाट फियोरेन्टिनाविरुद्ध ९ खेलाडी परिवर्तन गरेको थियो । रोमेलु लुकाकुलाइ पनि बेन्चमा राखिएको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.