आईपीएलमा गुजरातको विजयी सुरुवात

चैत्र १८, २०७९ |कान्तिपुर टीभी संवाददाता
आईपीएलमा गुजरातको विजयी सुरुवात

काठमाडौं । साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा विजयी सुरुवात गरेको छ । आइपीएल २०२३ को उद्‌घाटन खेलमा गुजरातले चार पटकको च्याम्पियन चेन्नाई सुपर किंग्सलाई पाँच विकेटले हराउँदै सुखद सुरुवात गरेको हो ।

१६ औँ संस्करणको प्रतियोगिताको खेल अघि भव्य रुपमा उद्घाटन समारोह गरिएको थियो । अम्मदाबादस्थित नरेन्द्र मोदी रंगशालामा भएको खेलमा एक लाख दर्शकको उपस्थितिमा भव्य उद्घाटन र आतिशबाजी गरिएको थियो ।

खेलमा टस जितेर पहिले गुजरातले चेन्नाईलाई ब्याटिङको निम्तो दिएको थियो । चेन्नाईले रुटुराज गायकवार्डको आक्रमक अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७८ रनको योगफल बनाएको थियो । रुटुराजले ५० बलमा ९२ रनको पारी खेले । उनले चार चौका र ९ छक्का प्रहार गरेका थिए । मोहिन अलिले २३, सिभम् दुवेले १९ , कप्तान महेन्द्र सिंह धोनीले अविजित १९ रन तथा अम्बाती राइडुले १२ रन थपे । मोहम्मद सामी, रासिद खान र अल्जारी जोशेफले दुई - दुई विकेट हात पारे ।

जवाफमा उत्रिएको गुजरातले चार बल बाँकी हुँदा पाँच विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । सुभमन गिलले सर्वाधिक ६३ रन बनाए । रिदिमन साले २५ , भिजय संखरले २७, साही सुदर्शनले २२ रन जोडे । अन्तिम दुई ओभरमा गुजरातलाई जितका लागि २३ रन चाहिएकोमा रासिदले पहिलो बलमा छक्का र दोस्रो बलमा चौका प्रहार गरेपछि अन्तिम ओभरमा जितका लागि ८ रन चाहिएको थियो । जसमा राहुल टेवाटियाले छक्का र चौका प्रहार गर्दै लक्ष्य पूरा गरे ।

इन्डियन प्रिमियर लिगमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा पञ्जाव किंग्स र कोलकता नाइट राइडर्स आमनेसामने हुनेछन् । साँझको खेलमा लख्नउ र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement